धरानः सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने भएकाे छ । गत फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेकाे छ । महासंघले निर्णयकाे पूर्ण कार्यान्वयन हुनेमा विश्वस्तता व्यक्त गरेको छ । निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा महासंघले मन्त्रालयको तर्फबाट भएको उक्त निर्णयको स्वागत गर्दै निर्णय पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ । साथै महासंघले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ।
