धरानः इटहरीको पाँचतारे होटल सञ्चालनमा आउन लागेको छ । होटल आउँदो वैशाखबाट सञ्चालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए ।
‘सोल्टी होटल लिमिटेडलाई’ व्यवस्थापनको जिम्मा दिएको र यसको नाम सोल्टी वेस्टेण्ड रहने उनले जानकारी दिए । उनका अनुसार होटलले तीन महिनाभित्रै क्यासिनो सञ्चालनमा ल्याउनका लागि यतिखेर विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ ।
सात वर्ष अघि निर्माण सुरु गरिएको होटल भूकम्प, नाकाबन्दी, कोभिड लगायत विभिन्न कारणले सञ्चालनमा आउन ढिला भएको बताउँदै उनले भने,‘निर्माण सुरु भएको सात वर्ष भइसकेको छ । बल्ल हामी फिनिसिङको अन्तिम चरणमा छौं । हामी अहिले सञ्चालनको संघारमा छौं ।’
कुल एक बिघा क्षेत्रफलमा रहेको होटलमा कुल ९० वटा कोठा छ । होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ । दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभीन्न सुविधा रहेको उनले जानकारी दिए ।
सात वर्ष अघि ९० करोड रुपैयाँको लागत अनुमान गरिएको होटल निर्माणमा हालसम्म डेढ अर्ब रुपैयाँ लागत लागिसकेको उनले जानकारी दिए । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा यो होटल सञ्चालनमा आउन लागेको हो ।
होटलमा तीनवटा रेस्टुरेन्ट हुनेछन्, जसमध्ये ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ । अर्को फाइन डाइनिङमा सयजना सजिलै बस्न सक्छन् । तेस्रो ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी छ । त्यस्तै एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल छन् ।
होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका सुविधा रहने उनले बताए । ‘इटहरी कुनै पर्यटकीय क्षेत्र होइन, यहाँ घुम्नकै लागि भनेर कोही पर्यटक आउँदैनन्,’ उनले भने, ‘तर यहाँ व्यापारिक पाहुना प्रशस्त आउँछन् । विवाह, मनोरञ्जन, जन्मोत्सव, वैवाहिक वर्षगाँठ, नयाँ वर्ष लगायतका समारोह मनाउन भारतका ग्राहक यहाँ आउँछन् । सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले दिने बिजनेस पनि राम्रो छ ।’