धरानः धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले गौरवको आयोजनामा चलखेल भएको आरोप लगाएकी छिन् ।
उनले धरान उपमहानगरपालिकाको आम्दानी मारेर २ करोड रुपैयाँ चलखेल समेत भएको पत्रकार सम्मेलन गरेरै जानकारी दिइन् । धरान–५ स्थित अँधेरी खोलाबाट ढुङ्गा–गिटी निकाल्न दिएको जनाउँदै उनले मेयरले एकलौटी ढङ्गले निर्णय गरी अघि बढेको समेत बताइन् । सो खोलामा हाल चरम दोहन भइरहेको बताउँदै उनले अँधेरी खोलाबाट ७३ हजार घनमिटर नदीजन्य पदार्थ गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माण गरिरहेको ठेकेदार कम्पनी श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरलाई १ करोड ७४ लाखमा दिइएको बताइन् । उनले भनिन्, ‘तर अब सेउती खोलामा सोही परिणामको नदीजन्य पदार्थ ३ करोड ९९ लाख रुपैयाँमा टेण्डर भई ठेक्का लाग्ने अवस्थामा छ । हतार हतारमा ठेकेदारलाई दिएर २ करोड भन्दा बढी रकम चलखेल गरिएको छ ।’
उनी अँधेरी खोलामा भइरहेको उत्खननबारे अनुगमनमा गएकी थिइन् । टोलीले अनुगमन अनुगमन गरेपछि उत्खनन रोकिएको उनले बताइन् । भण्डारीको नेतृत्वमा पुगेको अनुगमन टोलीले खोलामा जथाभावी उत्खनन भइरहेको र मदन भण्डारी राजमार्गमा प्रयोग गर्ने गरी दिइएको नदीजन्य पदार्थ अन्यत्रै प्रयोग भएको पाइएपछि खोलाको उत्खनन रोकिएको बताइन् । ‘खोला उत्खनन मापदण्डविपरीत भइरहेको पाइएको छ, मदन भण्डारी राजमार्गमा प्रयोग गर्ने गरी नदीजन्य पदार्थ दिइएको भए पनि अन्यत्र प्रयोग गर्ने गरी नदीजन्य सामग्री लगेकोले उत्खनन रोकिएको हो ।’ प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको निष्कर्षमा दैनिक २७४.५७ घन मिटर मात्र नदीजन्य पदार्थ सङ्कलन गरिने भनिएको भएपनि अहिले धेरै सङ्कलन भइरहेको उनले बताइन् ।
अनुगमन पश्चात नेकपा एमालेको पार्टी कार्यालयमा उनले पत्रकार सम्मेलन राखेकी थिइन् । उपमेयर मञ्जु भण्डारीले राष्ट्रिय गौरबको आयोजनालाई निर्माण सामग्री दिने कुरामा प्रक्रिया नपुरयाइ अपारदर्शी ढङ्गबाट मेयरले गरेको बताइन् । मेयरले कुनै निकायमा छलफल नै नगरी एकल निर्णय गरेकोले भ्रष्टाचार भएको शङ्का लागेको उनले बताइन् । ‘कार्यपालिकामा यो विषय छलफल भएको भए अहिलेको भन्दा दोब्बर बढी मूल्यमा दिन सकिन्थ्यो । यहाँ उपमहानगरको आम्दानी मारेर भ्रष्टाचार गरिएको हाम्रो ठहर छ ।’
उनले आफूलाई उत्खनन् गर्नेबारेमा केही थाहा नभएको बताइन् । स्थानीयको गुनासोपछि मात्रै आफूले चाल पाएर पत्रकार सम्मेलनसम्म आइपुगेको उनले बताइन् । उनले यो वर्ष सेउती, सर्दु, अँधेरी, सेहरालगायतलाई प्राथमिकतामा राखेर आम्दानीको स्रोत बढाउने भन्दै उपमहानगरपालिका लागेपनि अन्ततः टेण्डर प्रक्रिया नै नपुरयाइ काम अघि बढाउने काम भएको समेत उनले बताइन् । नगरपालिकाको आम्दानी खस्किएको र समयमै टेण्डर लगाउनुपर्ने भएपनि त्यो कामै रोकिएको उनले बताइन् । ‘गत भदौमा टेण्डर लगाउनुपर्ने तर नियतबस टेण्डर रोक्ने काम गरिएको छ’, उनले भनिन् ।’
कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीका उपाध्यक्ष पारस काङमाङ राई, एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदी, एमालेका धरान उपमहानगरका सह–इञ्चार्ज जयन्त गौतमलगायत उपस्थित थिए ।