Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मकै धेरै फल्ने ठाउँमा अनुसन्धान थालियो

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७८, शनिबार
सुनसरीमा मकै धेरै फल्ने ठाउँमा अनुसन्धान थालियो

सुनसरीः गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैनन् । आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका यादवले यसपाली गहुँ लगाएका छन् ।
विगतमा एक कट्ठामा ७ क्वीन्टलसम्म मकै उत्पादन भएको उनी सुनाउँछन् । ‘क्वीन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो’, उनले भने, ‘पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपाली अरु बाली लगाइयो ।’
भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । भोक्राहा नरसिंह गाउँपालिकाअन्तर्गत रहेका कृषि विकास शाखाका अनुसार यहाँ बेसिजनमा पनि करिब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ ।
गाउँपालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् । ब्लक क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरुले जग्गा भाडामा लिएर पनि मकै खेती गर्ने गरेका छन् । कतिपयले त वर्षमा तीन बाली मकै पनि लगाउने गरेका छन् । उनीहरुका लागि अहिले फौजी किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको छ ।
स्थानीय युवा शंकर मेहताले यस वर्षबाट मकै खेती सुरु गरेका थिए । ‘ििहलो गासमै ढुंगा भनेजस्तो भयो’, उनले भने, ‘खर्च उठाउन पनि सकिँदैन जस्तो छ ।’ उनले स्थानीय एग्रो फर्मको सल्लाह लिएर मकैमा विषादी छरिरहेका छन् । तैपनि किरा घटेको छैन ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिना एक हप्ता भयो । यो अवधिमा उनले मकैमा ५ पटक विषादी छरिसके । ‘मेरो खेतमा पोहोर उत्पादन राम्रो थियो । किराको असर थिएन’, उनले भने, ‘यसपाली त बर्बादै होला जस्तो छ ।’ उनले करिब १० कट्ठा जमिनमा मकै लगाएका छन् ।
उनले गत वर्ष ७ हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानी दिएको थियो । ‘यसपाली त खर्च मात्रै १८ हजार पुग्न लाग्यो’, उनले भनिन्, ‘खेती गरेर खाने दिन गए जस्तो लागेको छ ।’ गत वर्षबाटै मकैमा किराको असर देखिन थालेपछि यसपाली उनले आधा भन्दा बढी जमिनमा तोरी खेती गरेका छन् ।
मकैमा फौजी किरासँगै गबारोको असर पनि उत्तिकै छ । गबारोले मकैको विरुवा सुक्ने, ओइलाउने समस्या देखिएको किसान प्रविन मेहताले बताए । ‘मेरोमा फौजी किरा देखिएन तर गबारोले मकै बिगार्न थालेको छ’, उनले भने, ‘विषादी छरेर ठीक हुन्छ कि भनेर लागिपर्दै छु ।’
यता जुटबाली अनुसन्धान कार्यालय इटहरी, सुनसरीका कृषि विज्ञ तथा कार्यालय प्रमुख तिर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरी सहितको टोलीले मकैबाली अनुगमन गरेका छन् ।
सो टोलीका टिमले भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा रुद्रनारायण साहको खेतमा अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइब्रिड जातका मकैबालीको अनुगमन गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि शाखा प्रमुख रेनुका चौधरीले जानकारी दिइन् ।
उनले जानकारी दिएअनुसार अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकै सि.ए. एच ५०११, सि.ए. एच १७१५, भि.एच १८४६, आर.एम.एल १४५÷आर .एल १११, आर.एम.एल १४५ , आर.एल.९८, आर.एम.एल. १४५, आर.एल २, भि. एच १८६१४ अनुसन्धान गरिएको हो ।
सो स्वदेशी हाइव्रिड जातका मकैको विरुवाहरुमध्ये कुन जातको राम्रो विरुवा र रोग कीरा रहित रहेको अनुसन्धान गरिएको बताइन् । अनुसन्धान गरिएको स्वदेशी हाइव्रिड ८ वटा जातका मकै मध्ये आर एम एल १४५, आर एल ९८, आर एम एल १४५, आर एल २ जात राम्रो देखिएको र माटोमा उपयुक्त हुने बताए ।

प्रकाशित मिति: फाल्गुन २१ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend