Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा माधवको पार्टी एक्लै भिड्ने !

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७८, सोमबार
सुनसरीमा माधवको पार्टी एक्लै भिड्ने !

सुनसरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सुनसरी जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले आउँदो निर्वाचनमा दलहरुबीच गठबन्धन नबनेको अवस्थामा एकलरुपमा निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संघीय सरकारमा प्रतिनिधित्व गर्ने दलहरुबीचको सहमतीमा स्थानीय तह निर्वाचन २०७९ का लागि गठबन्धन बन्न नसकेको अवस्थामा सुनसरी जिल्लामा एकलरुपमा सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीचको सत्ता गठबन्धनबाट चुनावी तालमेल मिलाएर गठबन्धनमार्फत् उम्मेदवारी दिन जिल्ला तथा स्थानीय तह र वडा तहमा आवश्यक वार्ता, समन्वय, सहमती र एकता कायम गर्न उम्मेद्वारी दिने अन्तिम समयसम्म पहल प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
गठबन्धन बन्न नसकेको अवस्थामा मात्र एकलरुपमा निर्वाचनमा भाग लिनका लागि उम्मेद्वारी दिने तयारी अवस्थामा रहन सबै तहका नेता कार्यकर्तालाई निर्देशन गरिने निर्णय बैठकले गरेको छ ।
नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले बैठकको निर्णय सार्वजनिक गर्दै आउँदो निर्वाचनका लागि फागुन मसान्तसम्म सुनसरीका १२ वटा स्थानीय तहका १ सय २४ वटा वडा र टोल वस्तीमा पार्टीको संगठन गठन पुर्नगठन कार्य सम्पन्न गरी चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय गरेको जानकारी दिए ।
निरौलाले सुनसरीमा एकल रुपमा निर्वाचनमा उम्मेद्वारी दिई भाग लिँदा अधिकांश वडा र स्थानीय तहमा मुख्य प्रतिष्पर्धा केपी ओली समूहसँग र केही स्थानमा नेपाली कांग्रेससँग हुने निष्कर्ष बैठकले निकालेको बताए ।
सुनसरी जिल्लामा तीन महिनाको अवधीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, सिपी मैनाली नेतृत्वको नेकपा माले परित्याग र केपी ओली समूहबाट विद्रोह गरी ७ सय जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।
अध्यक्ष निरौलाले हाल मौजुदा १ सय २५ जनाको जिल्ला कमिटीमा केपी ओली समूहबाट विद्रोह गरी आएका नेता कार्यकताहरुमध्ये एक पदाधिकारीसहित ६४ जनालाई जिल्ला कमिटी सदस्य पदमा चयन गरी पद तथा गोपनियताको सपथ ग्रहण गराई कार्यक्षेत्रमा जिम्मेवारी तोकेर संगठन निर्माण र परिचालन कार्यमा खटाइएको जानकारी गराए ।
नेकपा एस सुनसरी जिल्ला कमिटीको उपसचिव पदमा धरान निवासी सविता कोइरालालाई चयन गरिएको छ भने धरान उपमहानगर इञ्चार्जमा किशोर सुब्बा र सहइन्चार्जमा राम प्रधानलाई तोकिएको छ । यसैगरी देवानगञ्ज इन्चार्जमा हरिनन्दन मेहता र सहइन्चार्जमा प्रकाश साहलाई जिम्मेवारी दिइएको छ ।
दोस्रो पूर्ण बैठकले जिल्लाका १ सय २४ वटै वडा तथा टोल बस्तीहरुमा नेकपा एसको चुनाव चिह्न कलम रहेको झण्डा सेतो कपडा लेखी प्रत्येक पार्टी सदस्यहरुको घरमा अनिवार्य रुपमा राख्ने र चौक बजार पसलमा कलम चिन्हको प्रचार प्रसार गर्न नेता कार्यकर्ताहरुलाई सर्कुलर गरिने जानकारी अध्यक्ष निरौलाले दिए । यसैगरी पार्टी संगठन निमार्ण र सृढणीकरण अभियान चैत मसान्तसम्म सञ्चालन गरिनेसमेत जनाइएको छ ।

प्रकाशित मिति: फाल्गुन २३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend