पाँचथरः फिदिम नगरपालिका-५, चोकमागु चनौटेस्थित यू कुबुङ लिङ्थाङ माङ्हीममा निर्मित १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, महागुरुका प्रथम चेला दिलमान तुम्बापो र सानो गुरुको नामले चर्चित बद्रीनन्द तुम्बापोको शालिक एकसाथ अनावरण हुने भएको छ ।
फागुन २७ गते एकसाथ अनावरण हुने कार्यक्रम रहेको माङ्हीमका नवीनचन्द्र तुम्बापोले जानकारी दिए । निरन्तर पहिरो गइरहेको सो स्थानमा महागुरु फाल्गुनन्दले वि.सं.१९७८ बैशाख २२ गते पहिलोपटक लाधुङसेमी सेवा (दैवीप्रकोप नियन्त्रण पूजा) लगाई पहिरो रोकथाम गरेको भनाई छ । उक्त ऐतिहासिक घटनाक्रमको एक सय वर्ष पूरा भएको पहिलो सतवार्षिकिको अवशरमा लाधुङ्सेमी सेवासँगै शालिक अनावरण गर्ने कार्यक्रम तय भएको माङ्हीमले जनाएको छ ।
माङ्हीमका नवीनचन्द्र तुम्बापोका अनुसार प्रदेश–१, सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ को हस्तवाहुलीबाट शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । माङ्हीमले सो दिन चरुभेटी संकलन गरी माङ्सेवामा उपस्थित भइदिन पनि अनुरोध गरेको छ । लाधुङ्सेमी सेवा फागुन २७ गते बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ ।