विराटनगरः मोरङमा नेकपा माओवादी केन्द्रबाट स्थानीय चुनावमा लडेर मेयर र उपमेयर बनेका व्यक्ति नै एमालेमा प्रवेश गरेका छन् ।
रंगेलीका मेयर दिलीप बगडिया (अग्रवाल) एमालेमा प्रवेश गरेका हुन् । बगडिया माओवादी नेतृत्वमा देखिएको असन्तुष्टिका बीच एमालेमा प्रवेश गरेका हुन् । बगडिया ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट निर्वाचित बनेका हुन् ।
रंगेली नगरपालिकाकी उपमेयर केशवकुमारी खराल र केही निर्वाचित वडाअध्यक्षहरूसहित करिब ५ हजार माओवादीका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेको एमाले मोरङ अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।
नेकपा एमाले मोरङको आयोजनामा भएको जनसभामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बगडियालाई पार्टीमा प्रवेश गराएका हुन् । मंगलबार मात्र नेकपा माओवादी केन्द्रले मेयर बगडिया पार्टीबाट कार्वाही गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । प्रदेश कमिटिको नाममा सार्वजनिक भएको विज्ञप्तिमा बगडिया पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएकोले मेयरलाई कार्वाही गर्न निर्वाचन आयोगलाई लेखेर पठाइएको उल्लेख गरेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) अध्यक्ष ओलीले एमाले नै गरिब जनताको पार्टी भएको बताउँदै देश बनाउने पार्टी पनि रहेको धारणा राखे । उनले नेकपा माओवादी अध्यक्ष प्रचण्डले भ्रमको खेती गर्दै आएको आरोप समेत लगाए । ‘प्रचण्डले जहिल्यै भ्रम छर्छन्, त्यो भ्रमबाट मुक्त हुन म सबैलाई आग्रह गर्छु ।’ उनले भने ।