Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा खोलामा मृत भेटिएपछि…

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
धरानका युवा खोलामा मृत भेटिएपछि…

धरानः धरानका एकजना युवा खोलामा मृत फेला परेका छन् ।
धरान-१६ का २५ वर्षीय दिलेन्द्र परियार मोरङको सिंघिया खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको सीमा भएर बग्ने खोलाको दहमा उनको शव फेला परेको उनले जानकारी दिए ।
विराटनगरा–२ मा रहेको ‘स्पर्श नेपाल’ नामक सुधार केन्द्रमा बसेका उनी मङ्गलबार भागेका थिए । भाग्ने क्रममा परियार सिंघिया खोलामा तर्दा खोलाको दहमा खसेर बेपत्ता बनेका थिए । उनीसँगै चार युवा पनि भागेको प्रहरीले जनाएको छ ।
भागेकामध्ये धरान–१६ कै निशान धमलालाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको उनले जानकारी दिए । उनलाई भाग्दाभाग्दै नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनीहरुसँगै विराटनगरका दिनेश बस्नेत र रोहित कामत पनि भागेका थिए । उनीहरु अहिले प्रहरीको सम्पर्कमा रहेको डिएसपी मुकारुङले जानकारी दिए ।
‘सो खोला तर्ने क्रममा निशान भने तर्न सफल भएका थिए तर दिलेन्द्र खोलामा खसेको पाइयो, खोलामा खसेपछि उनी बेपत्ता थिए, प्रहरीको गोताखोरको टोलीले खोज्ने क्रममा बुधबार दिउँसो फेला पारेको हो ।’ उनले भने । इटहरीबाट पुगेको गोताखोरको टोलीले उनको शव खोलाको दहबाट बाहिर निकालेको उनले जानकारी दिए ।
मङ्गलबार करिब साढे चार बजे उनीहरु सुधार केन्द्रको मूल गेटबाटै भागेको पाइएको प्रहरीले जनाएको छ । दहमा हामफालेपछि बाहिर निस्किन नसक्दा पानीमै डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु करिब एक महिनाअघि परिवारकै सहमतिमा सुधार केन्द्रमा पुगेका थिए ।

परिवारका सदस्य र आफन्तले मृत फेला परेका परियारको शव बुझ्न अस्वीकार गरेका थिए । सम्झाइबुझाइ गरेपछि अहिले शव कोशी अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । परिवारले सुधार केन्द्रको लापरवाहीले घटना घटेको बताएका थिए । फरार परियारको परिवारले तीन महिनामा सुधार गर्ने कोर्षका लागि केन्द्रलाई ६० हजार रुपैयाँ बुझाएको बताएका छन् । दुव्र्यसनबाट सुधार्ने प्रतिबद्धता दिएको केन्द्रले छोरा सकुशल फिर्ता नदिएको परिवारले बताएका छन् । उनीहरुले घटनाको विषयमा छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरेका छन् ।
प्रहरीले भने घटनाको बारेमा विभिन्न कोणबाट अनुसन्धान थालेको जानकारी दिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले घटनाबारे थप अनुसन्धान थालिएको जानकारी दिए । ‘घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालिएको छ’, उनले भने, ‘अझै ‘डिटेल’ बुझ्ने काम भइरहेको छ ।’
सुधार केन्द्रमा भागेकासहित गरी १८ जना त्यहाँ राखिएको थियो । सुधार केन्द्रका अध्यक्ष सञ्जीव खड्काले भने यसबारेमा थप बुझ्नुपर्ने भएकोले केही नबताउने बताए ।

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend