धरानः संखुवासभाको मादी–६ मा भएको बस दुर्घटनामा परी घाइतेहरुलाई धरान ल्याइएको छ ।
५ जनालाई सेनाको हेलिकोप्टरमार्फत् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले जानकारी दिए । दुर्घटनामा घाइतेलाई लिएर हेलिकोप्टरमै मेयर पनि धरान आइपुगेका थिए । घाइतेमध्ये मादी–५ की ३० वर्षीय युका पोखरेलको उपचारका लागि ल्याउँदै गर्दा हेलिकोप्टरमै मृत्यु भएको हुनसक्ने उनले जानकारी दिए ।
प्रतिष्ठान ल्याइपुरयाएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई अक्सिजन दिएर ल्याइएको थियो । ‘घाइतेहरुको उद्दार गरेर धरान ल्याइएको छ’, उनले भने, ‘एकजनाको मृत्यु समेत भइसकेको छ, हेलिकोप्टरमै मृत्यु भएको हुनसक्छ, यहाँ ल्याइपुरयाउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।’ उनले भने ।
घाइतेमध्ये मादी–५ का ३० वर्षीय सुवास गोले, मादी–६ का २२ वर्षीय तुलसा कट्वाल, अम्विका विक र ५० वर्षीय डम्बरबहादुर कार्कीको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।
संखुवासभाको मादीमा भएको बस दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार बिहीबार बिहान करिब ७ः३० तिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको ‘रेसम फिलिली’ नामको बस दुर्घटनामा परेको हो । पुलुङ गाउँस्थित सातघुम्ती भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । तीब्र गतिमा बस कुदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्येका सुवास गोलेले चालकले स्टेरिङ घुमाउन नपाउँदै सिधै बस झरेको बताए । ‘तीब्र गतिमा रहेको बस हेर्दाहेर्दै चालकले स्टेरिङ घुमाउनै नपाइ पल्टियो’, उनले भने । मादी नगरपालिकाका मेयर लिङ्थेपका अनुसार शुरुमा बस पल्टिएपछि बजारिएको थियो । बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उनले जानकारी दिए । त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको पाइएको उनले जानकारी दिए ।
मृतकमा जिल्ला तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का विपीन निरौला (चालक तथा सवारी धनी), संखुवासभा मादी ४ बस्ने वर्ष ३५ का उमेश भट्टराई (सहचालक) छन् ।
यस्तै, संखुवासभा मादी ६ बस्ने वर्ष ३२ की अञ्जना कटुवाल, मादी ५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी ६ बस्ने वर्ष ३८ का इन्द्रबहादुर अधिकारी, मादीकै वडा नम्बर ४ बस्ने वर्ष ३८ का आइतबहादुर तामाङ, सोही ठाउँ बस्ने वर्ष ३५ कि सविता राउत कार्की, मादी ५ का वर्ष ५२ का श्याम शेर्पा, सोही ठाउँ बस्ने वर्ष ५५ का भवानी दाहाल, मादी ६ वर्ष ५ की दीक्षा कटुवालको मृत्यु भएको छ । यस्तै, मादी–४ का वर्ष ६० को बलबहादुर कार्की, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन, समीक्षाका छोरा वर्ष का सुदीप घिसिङको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



