धरानः संखुवासभामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । यो दुर्घटना कहालीलाग्दो नै हो । एकाबिहानै दुर्घटनाको खबरले गाउँ नै शोकमा डुब्यो, देशका जनतालाई मर्माहत तुल्यायो । यस मानेमा पनि यो दुर्घटना कहालीलाग्दो नै हो ।
मादी नगरपालिकाको ओखरबोटेबाट छुटेको बस मादी–६ पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको थियो । कालोपत्रे गरिएको सडकको गाडी तीन सय मिटर तल खस्दा अनाहकमा १५ जनाले ज्यान गुमाउनुपरेको छ ।
सुवास गोले मादी–५ का बासिन्दा हुन् भने बुकिङ काउन्टरमा टिकट बुकिङ गर्ने गर्दथे तर काम विशेषले गाडीसँगै हिँडेका थिए । पहिलो बल्ड्याङमै उछिट्टिएर ज्यान जोगिएका ३० वर्षीय गोलेका अनुसार बसका चालक विपीन निरौला यसअघि पनि गाडी चलाएकै व्यक्ति थिए ।
विपीनले घुम्तीमा स्टेरिङ घुमाउन नसक्दा दुर्घटना भएको बताए । ‘खासमा बस निकै मास्तिरदेखि लरबरलरबर गर्दै थियो’, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनले भने, ‘घुम्तीमा आइसकेपछि सिधै बस भीरतिर हामफाल्यो, पहिलो बल्ड्याङ खाँदै म उछिटिएर बाहिर पुगेको थिएँ, बस फेरि अर्को बल्डयाङ खाँदै भीरमुनि पुग्यो ।’ सायद गाडी ब्रेक फेल भएर होला स्टेरिङले काम गर्न सकेको थिएन । किनभने यसअघि नै गाडीको आवाज अलि फरक, घ्यार घ्यार गर्ने खालको आइसकेको थियो । एकजनाले यात्रुले त जोडबल अर्थात् सबैले सुन्ने गरेर गाडी त फरक किसिमले करायो त, के भयो ? समेत भनेका थिए ।

दुर्घटनामा घाइते बनेका बुकिङ काउन्टरका गोले ।
विपीन यसअघि बसको आफैं साहु रहेको र उनले पहाडी क्षेत्रमा निकै लामो समयसम्म गाडी चलाएका थिए । उनका अनुसार विपीनले झापादेखि खाँदबारीसम्मको रुटमा गाडी चलाउँथे । उनका अनुसार खासमा विपीनले दमकदेखि त्यहाँसम्म गाडी लगेका थिए ।
खासमा एक महिनाअघि मात्रै मादीको ओखरबोटेमा रुट कन्फर्म भएपछि त्यहाँ नयाँ गाडी पुगेको थियो । रेसम फिलिली यातायात प्रालि मातहत रहेको को४ख ७३५ नम्बरको बस बिहीबार बिहान मादी नगरपालिका– ६ मा रहेको सातघुम्तीको भीरबाट झरेको थियो । बस चालक निरौला तेह्रथुम घर भएपनि इटहरीमा परिवारको साथमा बस्दै आएको पाइएको छ । उनका अनुसार सो बसको लागि तोकिएका ड्राइभर बिरामी बिदामा थिए ।
पहिलोपटक गाडी बल्ड्याङ खाँदा ९ जनाको त्यही मृत्यु भएकोले शव भेटियो । अर्को बल्ड्याङ खाएर तल पुग्दा थप लास भेटियो । ८–१० वर्षको बच्चाको लाश गाडीमा च्यापिएको अवस्थामा फेला परेको थियो । यसरी गाडीमा सवार १९ जनामध्ये १४ जनाको ज्यान गएको थियो । ५ जना घाइतेमध्ये धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेलाई १० बजेतिर चैनपुर पुरयाइएको थियो । गम्भीर घाइते उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट धरानस्थित बीपी प्रतिष्ठानमा ल्याइएको थियो ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताए । उनले पहिलो बल्ड्याङ खाँदा गाडीबाट झर्न सकेकाहरू बाँचेको हुनसक्ने बताए । ‘तीब्र गतिको बस घुम्तीमा आइपुगेपछि ब्रेक लाग्न रोकिएको हुनुपर्छ, ब्रेक नलागेपछि घुम्ती नमोडिकनै सिधै भीरतिर गाडी पुगेको हुनुपर्छ’, उनले भने, ‘तर थप अनुसन्धान जारी छ ।’

बस दुर्घटनामा मृतक सबैको पहिचान खुलेको छ । घाइतेमध्ये मादी–५ की ३० वर्षीय युका पोखरेलको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको हो । उनलाई हेलिकोप्टरमार्फत् धरान ल्याइपुरयाएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा चालक तथा सवारी धनी औंशीडाँडा, तेह्रथुमका ३५ वर्षीय विपीन, सहचालक मादी–६, संखुवासभाका ३५ वर्षीय उमेश भट्टराईको मृत्यु भएको छ । यस्तै, ४५ वर्षीय दीपक दाहाल (मादी–५ संखुवासभा) ५२ वर्षीय श्याम शेर्पा (मादी–५, संखुवासभा), ५५ वर्षीय भवानी दाहाल (मादी–५, संखुवासभा), ३८ वर्षीय इन्द्रबहादुर अधिकारी (मादी–६, संखुवासभा), ५ वर्षीया दीक्षा कटवाल (मादी–६, संखुवासभा), ३२ वर्षीया अन्जना कटवाल ( मादी–६ संखुवासभा) ३८ वर्षीय आइतबहादुर तामाङ (मादी–४, संखुवासभा) ३५ वर्षीया सविता राउत कार्की (मादी–४, संखुवासभा), ३० वर्षीया सीता विक (मादी–६, संखुवासभा), ६० वर्षीय बलबहादुर कार्की (मादी–४, संखुवासभा) ३१ वर्षीया समीक्षा योञ्जन (ताप्लेजुङ), ८ वर्षीय सुदीप घिसिङ (ताप्लेजुङ) को मृत्यु भएको छ ।
यस्तै, ३० वर्षीय सुवास गोले–मादी ५ , संखुवासभा, २२ वर्षीय तुलसा कट्वाल– मादी ६, संखुवासभा, अम्विका विक–मादी ६, संखुवासभा, संखुवासभा, ५० वर्षीय डम्बरबहादुर कार्की– मादी ६, संखुवासभाको अहिले धरानस्थित बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । उनीहरुलाई पनि सेनाको हेलिकोप्टरमार्फत् धरान ल्याइएको हो ।
