बिर्तामोडः झापामा महिलाको हत्याको आरोपमा एकजनालाई पक्राउ गरिएको छ ।
झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए । घाँस काट्न भनी घरबाट हिँडेकी महिलाको हत्या भएको थियो । झापा मेचीनगर–५ पीपलडाँडाकी ६८ वर्षीया अम्बिका कुँवरको बुधबार करिब ७ बजे हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
अपराह्न ४ बजे घाँस काट्न भनेर कुँवर हिँडेकी थिइन् । तर, बेलुकासम्म नफर्केपछि श्रीमान् खोज्दै जाँदा घरदेखि दुई सय मिटर पश्चिम दक्षिणमा रहेको बाँझो खेतमा उनको शव फेला परेको थियो ।
संघीय प्रहरी इकाइ कार्यालय धरानको डग शाखाबाट परिचालन भएको दुई वटा कुकुरसहितको टोलीले बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुँवरको शरीरमा चोटपटक छ । उनको घाँटी थिचेको तथा शरीरका विभिन्न भागमा मुड्की प्रहार गरेको देखिएको पाठकले बताए ।
‘शव पोष्टमार्टमको स्वास्थ्य विधि विज्ञान प्रयोगशाला धरान पठाइएको छ,’ पाठकले भने, ‘बस्नेतले आफूले हत्या गरेको स्वीकारेका छन् ।’