संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । उनीसहित अन्य ७ जना पनि पक्राउ परेको जनाइएको छ ।
जिल्लाको भोटखोला गाउँपालिकाका वडा नम्बर ४ सिप्रुङका एक वृद्धालाई वृद्धभत्ता दिलाइदिन्छु भन्दै ललाइफकाई गरेर करिब २७ रोपनी जग्गा कीर्ते गरेर रजिस्ट्रेसन पास गरेको खुल्न आएपछि वडाध्यक्ष किङसाङ भोटेलाई पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष थिए ।
७० वर्षीया वृद्धा भीममाया तामाङको जग्गा कीर्ते गरेको भनेर उजुरी परेपछि उनीसहित अन्य पनि पक्राउ परेका हुन् । पीडित वृद्धाका भाइ सुरेन्द्र तामाङका अनुसार वृद्धा दिदीलाई वृद्धभत्ताको कार्ड बनाइदिन्छु भनेर फकाएर ल्याप्चे हान्न लगाएर खाँदबारी मालपोतमा जग्गा पास गराइदिएको पाइएको छ । उनका अनुसार वडाध्यक्षकै मिलेमतोमा जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ ।

फागुन शुरु हुँदै उनीहरुले बुबाको नाममा रहेको जग्गा दिदीको नाममा नामसारी गर्न खोजेका थिए तर जग्गा अर्कैको नाममा । अपर अरुण आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा एक लाख रुपैयाँ दिएर पास गरेको खुलेको उनले जानकारी दिए । स्थानीयका अनुसार मुआब्जा क्षेत्रमा परे सो जग्गा अर्बौको हुन आउँछ ।
‘सो जग्गा बुबाको नाममा थियो, दिदीको नाममा ल्याउन खोज्दा जग्गा त अर्कैको नाममा छ भन्ने थाहा पाएपछि हामी अचम्ममा परयौं’, उनले भने, ‘पछि बुझ्दै जाँदा वडाध्यक्षकै मिलेमतोमा जग्गा अन्य व्यक्तिको नाममा नामसारी भएको चाल पाएपछि हामीले उजुरी गरेका हौं ।’ उनका अनुसार जग्गा कीर्ते गर्न ठूलै गिरो लागिपरेको छ । ‘धेरै ठूलो गिरोह लागिपरेको छ’, उनले भने, ‘हामी रुनु न हाँस्नु भएका छौं तर पनि पक्राउ परिसकेकोले न्याय पाउने आशामा छौं ।’
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले वडाध्यक्षसहित अन्य व्यक्ति पक्राउ परेको पुष्टि गरे । ‘उजुरी परेको थियो, पक्राउ पनि गरिसकेका छौं तर अनुसन्धानकै चरणमा भएकोले यसबारेमा त्यति धेरै नबोलौं’, उनले भने, ‘छिट्टै सार्वजनिक गरिहाल्छौं ।’
