सुनसरीः सुनसरीमा युवतीलाई ललाइफकाई भारतीय बजारमा लिएर जाने युवाहरु पक्राउपछि सार्वजनिक भएका छन् ।
एक युवतीलाई ललाइफकाइ गरी भारतीय बजारमा लिएर जाने क्रममा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले चेकिङका क्रममा सीमा पार गराउन लागेको अवस्थामा ती युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
काठमाण्डौ जिल्ला शंखरापुरा–४ लप्सेफेदी बस्ने वर्ष २० की एक युवतीलाई भारत बिहार राज्य सुपौल जिल्ला छिटही हनुमान नगर गोपालपुर वडा नं. ५ बस्ने वर्ष ३२ को मोहम्मद फिरोजलाई पक्राउ गरी मावन बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम दिन ७ (सात) म्याद लिई प्रक्रिया बढाइएको उनले जानकारी दिए ।
‘निज फिरोज काठमाण्डौमा घर बनाउने ठेक्का लिई काम गर्ने गरेको र पीडितको घर पनि ठेक्कामा बनाउँदा बोलचाल, चिनजान भएको थियो । सोही क्रममा उनले पीडितलाई मन पराउने र विवाह गर्ने प्रस्ताव राखी विभिन्न प्रलोभन पारेर विवाहको कपडा किन्ने निहुँ बनाई लिएर आएका रहेछन्’, उनले भने, ‘गत फागुन २५ गते राति भान्टाबारी नारायणी होटलमा राखी करणी समेत गरेका भनी पीडितबाट जाहेरी प्राप्त भएको हुँदा जबरजस्ती करणी शीर्षकमा समेत अनुसन्धानका लागि आवश्यक प्रक्रिया भइरहेको छ ।’
२०७८ फागुन २६ गते बिहान, नेपालबाट भारततर्फ जान लागेका उनीहरुमाथि शंका लागेर सीमामा रहेको नेपाल प्रहरी र कोकन नेपालको टोलीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको उनले जानकारी दिए । यस समाचारमा यसअघि तस्वीर अर्कै पर्न गएकोले क्षमाप्रार्थी छौं ।