Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा प्रचण्डले भने- गिरिजालाई राष्ट्रपति नबनाएर गम्भीर गल्ती गरें

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७८, आइतबार
विराटनगरमा प्रचण्डले भने- गिरिजालाई राष्ट्रपति नबनाएर गम्भीर गल्ती गरें

विराटनगरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले गम्भीर गल्ती गरेको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजालाई राष्ट्रपति बनाएर आफूले गम्भीर गल्ती गरेको बताएका हुन् ।
‘गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो, उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन । खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ’ उनले थपे, ‘त्यो बूढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होला? ३ महिनामा जाँदै गरेको रुक्माङ्गद कटवाललाई किन हटाएको होला ? थुक्क मेरो बुद्धि !’ .प्रचण्डले रामबहादुर थापा ‘बादल’ र बाबुराम भट्टराईले गर्दा त्यस्तो निर्णय लिएको दाबी गरे ।
प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित संसदबाट परित गरिएको एमसिसी व्यवहारिक कार्यान्वयनमा नजरअन्दाज गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । एमसिसीमाथिको बहस र टिप्पणी नसकिएको भन्दै चुनावपछि फेरि यसमाथि बहस र छलफल हुने उनको भनाइ छ ।
उनले सार्वभौमसत्ता संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास भएपछि तत्काल विवाद अन्त्य भएको प्रतिक्रिया दिए । ‘बाध्यात्मक परिस्थितिमा व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट पास भएको छ । मेरो विचारमा तत्काल एमसिसीसम्बन्धी विवाद हल भएको छ’, उनले भने, ‘व्यवहारिक कार्यान्वयनमा नजरअन्दाज गर्ने काम भए हामीलाई मान्य छैन । त्यस्तो स्थिति आए फेरि सडक संघर्षमा जान्छौं ।’
प्रदेश १ का इन्चार्ज राम कार्की र एमसिसीमा फरक मत राखेका नारायणकाजी श्रेष्ठलाई सँगै दायाँ–बायाँ राखेका प्रचण्डले फरक मतलाई चुनावपछि फोरममा बहस र छलफलमा लैजाने बताए । एमसिसीकै कारण माओवादी फेरी फुट्ने हो कि भन्ने आशंकालाई पार्टी नेताहरूले एक मतले अस्वीकार गरेको दावी गरे ।
उनले एमसिसीलाई देखाएर पार्टी छोड्ने नेताहरूसँग निकै आक्रोस पोखेका थिए । ‘पार्टीभित्र केही नेताहरूले एमसिसी पास गर्न नेतृत्वले सहमति गरेकाले पार्टी छोड्यौं भन्दै हिडेका छन् । सुन्दा पनि मलाई अचम्म लाग्छ’, प्रचण्डले व्याङ्य गर्दै भने, ‘एमसिसीका कारण पार्टी छोडे भन्नेले विप्लव, किरण, नारायणमान विजुच्छेको पार्टीमा जानु नि । माओवादी छोडेर एमाले प्रवेश गरेका छन् । त्यस्तो नि तर्क हुन्छ ।’

प्रकाशित मिति: फाल्गुन २९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend