उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित भवनहरुको उद्घाटन भएको छ ।
त्रियुगा नगरपालिका–१० बोक्सेस्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री उद्घाटन गरेका छन् ।
नवनिर्मित भवनहरुको उद्घाटन तथा निरिक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुरयाउने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
२४ सै घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुविधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधासम्पन्न भवन प्राप्त भएसँगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गदैै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै प्रहरीद्वारा आम नागरिकलाई चुस्तदुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कानुनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको हाता भित्र नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष गरी ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी तथा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनाल, श्री नं १८ बाहिनी अड्डाभुल्के ब्यारेकका बाहिनीपति सहायक रथी मधुकर सिंह कार्की, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि, स्थानिय बुद्धिजीवी, समाजसेवी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।