धरानः धरानमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
छैटौं हराइजन राष्ट्रिय बास्केटबल कप यही चैत ५ गतेदेखि ११ गते सम्म हुने भएको हराइजन क्लब धरान–१७ ले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । हरेक वर्ष हुँदै आएको प्रतियोगिता हराइजाइन खेलमैदान धरान १७ मा हुने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष वसन्त राईले प्रतियोगितामा देशभरबाट ८ वटा टिम सहभागी हुने जानकारी दिए ।
प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब, त्रिभुवन आर्मी, जिल्ला बास्केट बल सङ्घ रुपन्देही, बिर्तामोड बास्केटबल क्लब झापा, विराटनगर बास्केटबल एकेडेमी मोरङ, ब्रदर्श क्लब धरान, रोयल बास्केटबल एकेडेमी काठमाडौं र टाइम्स बास्केटबल क्लब काठमाडौं गरी ८ वटा टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित ट्रफीसहित नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि (टुबोर्ग बियर), सह प्रायोजक धरान १७, धरान १७ समाज हङकङ, धरान समाज युके रहेको छ । यसैगरी प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका र नेपाल बास्केटबल सङ्घ, सुनसरी बास्केटबल सङ्घ, कोइच क्याफे धरान, सेन्ट जोसेफ बोर्डिङ स्कुल धरान र मेहर कलेक्सनको सहयोग रहेको क्लबकी संरक्षक एवं सल्लाहकार पञ्चकला राईले जानकारी दिइन् ।
सुनसरी जिल्लाका क्लबहरुबाट छनौट गरिएको छ भने अन्य बाहिरका जिल्लाहरुलाई आमन्त्रण गरिएको खेलमा गत वर्ष खेलाडी सहभागीलाई निःशुल्क प्रवेश थियो भने यो वर्ष प्रति टिमलाई ३ हजार लाग्ने जनाइएको छ । खेलाडीहरुलाई बस्न, खानाको समेत ब्यवस्था रहेको क्लबकी कोषाध्यक्ष सुविक्षा राईले जानकारी दिइन् ।
तस्वीरः लक्ष्मण थापा