धरानः धरान–६ पानबारीस्थित आसरा सुधार केन्द्रको स्वामित्व अब १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको हुने भएको छ ।
सम्पूर्ण जिम्मेवारी रहने गरी स्वामित्व हस्तारण भएको हो । चौथो वार्षिकोत्सवपछि सो स्वामित्व त्यहाँ पुगेको हो । यसअघि आसरा सुधार केन्द्र रानीबारी, महाराजगञ्ज, काठमाडौंको स्वामित्वमा आसरा रहेको थियो ।
केन्द्रको प्राङगणमा भएको एक बिशेष समारोहका बीच कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दीप प्रज्वलन गरी विधिवत रुपमा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरिन् ।

संघकी अध्यक्ष थापाले दुव्यसनमा फँसेका युवापिढीलाई उपचार, परामर्श तथा पुनस्थापनामार्फत् पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्थापना गर्ने कार्य गर्दै आएको आसराले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताइन् । सोही कार्यक्रममा प्रमुख अतिथी थापाले केन्द्रका कर्मचारी तथा विभिन्न खेलकुद विधामा प्रथम भएका उपचाररत सदस्यहरुलाई प्रशंसापत्रले सम्मान गरिन् ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी, पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानविक्रम साह, आसरा सुधार केन्द्र धरानका सञ्चालन समितिका सदस्यले शुभकामना तथा मन्तब्य राखेका थिए ।
सुधार केन्द्रका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालको अध्यक्षतामा सम्पन्न चौथो वार्षिकोत्सवको अवसरमा उपचाररत सदस्यहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।