धरानः झापाको बिर्तामोडमा पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।
२ अर्ब रुपैयाँको लगानीमा ‘होटल द किङ्ग्सबरी’ सञ्चालनमा आउन लागेको हो । होटलका सञ्चालक प्रकाश गौतमले जानकारी दिए । बिर्तामोडमा सञ्चालनमा आउन लागेको यो पाँचतारे होटल नै पहिलो हो । आउँदो वैशाख १ गते नयाँ वर्षको अवसर पारेर उद्घाटन गरे पूर्णरुपमा सञ्चालनमा आउने उनले जानकारी दिए । ‘धेरैजसो पाँचतारे होटल काठमाडौंमै केन्द्रित रहेको र प्रदेश १ मा पनि लगानी गर्नुपर्छ भनेर यहाँ केन्द्रित भएका हौं ।’ उनले भने ।
हेल्थ क्लब, क्यासिनो, स्वीमिङ, डिस्को, विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि यस होटलमा सुविधा सम्पन्न हलहरु उपलब्ध हुने जनाइएको छ । यसमा दुईवटा रेष्टुरेन्टसमेत छन् । १०५ कोठामध्ये सुइट्स रुम, एक्जुकेटिभ भिला रुम, क्लब रुम र डिलक्स रुम उपलब्ध हुनेछन् । होटल तथा क्यासिनो पूर्णरुपमा सञ्चालनमा आएपछि कम्तिमा पनि ५ सय नेपालीले प्रत्यक्ष रोजगार पाउनेछन् ।
युएन, नवोदयका विद्यार्थी अवलोकन भ्रमणमा
धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले सो होटलमा अवलोकन भ्रमण गरेका छन् । कलेजमा बिएचएम पढ्ने विद्यार्थीले सो होटलको अवलोकन गरेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
‘सैद्धान्तिक ज्ञानमात्रै नभएर व्यवहारिक ज्ञान दिने उद्देश्यले सो होटलको भ्रमण गराइएको हो’, उनले भने, ‘पाँचतारे होटलको व्यवस्थापन, हस्पिटालिटी, होटल चल्ने सिष्टम, पाँचतारे होटलमा लिइने शुल्क, होटल म्यानेजमेन्ट विषयको फ्रन्ट अफिस, हाउस किपिङ, फुड एण्ड वेभरेज र फुड प्रोडक्सन सर्भिसको प्रयोगात्मक सिकाइ आदिबारे महत्वपूर्ण ज्ञान लिएर विद्यार्थी फर्किएका छन् ।’
अवलोकन भ्रमणमा कलेजका अध्यक्ष ज्ञानेश्वर झा, एमएम कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक सुमन बाँस्कोटा, विष्णु दाहाल, सिर्जना लिम्बूलगायतको उपस्थिति थियो ।



































