Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इलाममा ओलीले भने- पाँचै दललाई एउटै कुचोले बढार्छौं

हाम्रो कोशी आवाज
चैत्र ६ २०७८, आइतबार
इलाममा ओलीले भने- पाँचै दललाई एउटै कुचोले बढार्छौं

इलामः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने दाबीसमेत गरेका छन् ।
उनले एमालेबाट दुई चार जनाले छोडेर गए केही नहुने बताएका छन् । आइतबार इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ‘एमालेको सूर्य झन चम्किलो हुन्छ । देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्नेछ,’ उनले भने ।
चुनाव मतपत्रको रंगबारे आलोचना गर्दै आएका ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने आयोगको निर्णयलाई विश्वमा कतै नभएको चलन भएको जिकिर गरे ।
‘सधैं निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन दिन समय गथ्र्यो । यसपालि दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो?,’ उनले प्रश्न गरे, ‘मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेको मतपेटिका खाली गर्न चुनौती दिएका छन् । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।
‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला रु केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला रु चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि रु सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे ।
उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई(मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’
एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । यस क्षेत्रका संघीय सांसद खनाल हुन् । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् । हाल एकीकृत समाजवादीमा छन् । सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन् ।
फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । सो बजारमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई ओलीले स्वागत गरेका छन् ।

प्रकाशित मिति: चैत्र ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend