विराटनगरः स्थानीय चुनावमा अन्य सुरक्षाकर्मीसँगै परिचालन गर्न प्रदेश नम्बर एकमा १७ हजार ८३१ जना म्यादी प्रहरीको आवेदन खुला भएको छ ।
प्रदेश राजधानी विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रदेशभरका १४ जिल्लामा आवेदन खुला गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले म्यादी प्रहरीमा भर्ना हुन चैत ११ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएका छन् ।
आइतबारबाट नै आवेदन दिनेको ठूलो घुइँचो देखिएको छ । राईकाअनुसार चैत १३ गतेबाट म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु हुनेछ ।
म्यादी प्रहरीलाई निर्वाचनको समय करिब ४० दिन खटाइने छ । उनीहरूले रु. ३० हजार २ सय ४० रुपैया पारिश्रमिक प्राप्त गर्नेछन् । सो कार्यदिनका लागि राशन भत्ताबापत ७ हजार २ सय र पोसाक भत्ता ६ सय रुपैयाँ पनि प्राप्त गर्नेछन् ।
मोरङमा ३ हजार २७, झापामा २ हजार ७ सय ६४, सुनसरीमा २ हजार १ सय ४३, खोटाङमा १ हजार १ सय ४७, इलाममा १ हजार १ सय ९, पाँचथरमा ९ सय १९, उदयपुरमा ९ सय ५, धनकुटामा ८ सय ६१, सोलुखुम्बुमा ७ सय ९९, भोजपुरमा ७ सय ४९, ताप्लेजुङमा ६ सय ४७, ओखलढुंगामा ५ सय ६१, तेह्रथुममा ३ सय ९९ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् ।