धरानः प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार प्रदेश १ का विभिन्न जिल्ला पुग्ने भएका छन् ।
खोटाङ, मोरङ, पाँचथरलगायतको जिल्लामा उनी पुग्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ पुग्नेछन् । प्रधानमन्त्री देउवाले भोलि दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने कार्यक्रम छ ।
मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रूपैयाँमा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ करोड रूपैयाँ बजेटमा निर्माण भएको ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रालिले निर्माण गरेको हो ।
यस्तै, प्रधानमन्त्री देउवा पाँचथर पनि पुग्ने कार्यक्रम रहेको जनाइएको छ । तुम्बेवा गाउँपालिकामा संचालित तमोर पम्पिङ खानेपानी योजनाको उद्घाटन गर्न प्रधानमन्त्री देउवा त्यहाँ पुग्ने भएका हुन् ।
गाउँपालिकामा सञ्चालित आङ्ना, मौवा बृहत पंम्पिङ खानेपानी योजनाको उद्धघाटन गर्ने कार्यक्रमको लागी देउवा आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस तुम्बेवाका सभापती बाबुराम खड्काले जानकारी दिए । सो आयोजनबाट सुख्खा क्षेत्र रहेको तुम्बेवा गाउँपालिकाका नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
यस्तै, प्रधानमन्त्री देउवा सुन्दरहरैंचा आउने भएका छन् । नगरप्रमुख शिवप्रसाद ढकालको निमन्त्रणामा देउवा सुन्दरहरैंचा आउन लागेका हुन् ।
नगर प्रमुख ढकालको सचिवालयका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा–९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि उनलाई निमन्त्रणा गरिएको हो । सोही दिन हरैंचामा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।