Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोर करिडोर सडक कालोपत्रे होला ?

हाम्रो कोशी आवाज
चैत्र ७ २०७८, सोमबार
तमोर करिडोर सडक कालोपत्रे होला ?

पाँचथर: प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर करिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।
प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।
पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबार आङना-मौवा वृहत लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै देउवाले भने, ‘तमोर करिडोर आयोजनाको ट्रयाक खोलि सकिएको छ । छिटो कालोपत्रेको प्रक्रिया थाल्न म निर्देशन दिन्छु ।’
तमोर करिडोर कालोपत्रे भए पूर्वी पहाडमा उत्पादित कृषि उपजदेखि वन पैदावरसम्मका वस्तुको निर्यातमा सहजता हुनेछ । आयोजनाको एउटा खण्ड पाँचथरको माझीटारदेखि सुनसरीको चतरासम्मको निर्माण कार्यको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलाई छ ।
अर्को खण्ड माझीटारदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भने उत्तर–दक्षिण–दोभान ओलाङचुङगोला कार्यालयलाई निर्माणको जिम्मा छ । यी दुई आयोजना कार्यालयलाई कालोपत्रेको प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।

यस्तै, विस्तृत परियोजना प्रतिवेदन तयार भएको सप्तमी–दशमी–मौवा–आङ्ना–लखुवादोभान मोटरबाटो निर्माणको काम पनि छिट्टै थालनी हुने बताए ।
यस्तै, प्रधानमन्त्री देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकाका तीन वडालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।
देउवाले आयोजना सञ्चालनमा अवरुद्ध नहोस् भनेर नियमित मर्मत सम्भार गर्न उपभोक्ता समितिलाई आग्रह गरेका छन् । सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले बताए । योजनाबाट लाभान्वित उपभोक्ताहरूलाई बधाइसमेत दिए ।
आयोजनालाई दिगो र भरपर्दो बनाउन उपभोक्ता समिति र जिल्लास्थित खानेपानी डिभिजन कार्यालयसँगै स्थानीय सरकारलाई समन्वय गर्न पनि प्रधानमन्त्री देउवाको आग्रह छ । आयोजनाबाट तुम्बेवा गाउँपालिका वडा नम्बर १ आङना, वडा नम्बर २ र ३ मौवाका गरी करीब ८ हजार नागरिक लाभाविन्त हुने छन् ।

प्रकाशित मिति: चैत्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend