Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्तब्ध बन्दै उर्मिला श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

हाम्रो कोशी आवाज
चैत्र ७ २०७८, सोमबार
स्तब्ध बन्दै उर्मिला श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

धरानः स्थानीयको आक्रमणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मोरङको विराटनगर–७ स्थित कोशी अस्पताल परिसरमा लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको घटनामा मृत्यु भएकी प्रहरी जवान श्रेष्ठको पार्थिव शरीरमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले नेपाल प्रहरी सङ्गठनको झण्डा ओढाई पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रहरीको बैण्डसहितको एक टुकडीले शोकसलामी समेत अर्पण गरेको थियो ।
उच्च मनोबलका साथ अहोरात्र ड्युटीमा खटिने प्रहरीको यो दशा देख्दा अस्पतालमा पुगेका अरू व्यक्ति पनि भावशुन्य देखिन्थे । अस्पतालभित्रको शव गृहमा पोष्टमार्टम सकेर शव बाहिर निकाल्दा अस्पताल क्षेत्र नै स्तब्ध बनेको थियो ।  कोसी अस्पताल परिसर अरू दिनझैँ सुनसान थिएन । पुरै शोकमा थियो । त्यहाँ उपस्थित सबैका आँखा रसाएका थिए । प्रहरीको एक टुकडीले शोक धुन बनाइरहेको थियो । त्यही बेला सबैको मन भक्कानियो । कर्तव्यपालनका क्रममा एक राष्ट्रसेवक प्रहरी जवानको शवलाई अन्तिम बिदाइ चल्दै थियो ।
सबै सहकर्मीमा निराशामा मात्र थियो । जसको सुरक्षार्थ खटिएका थिए, उनीहरूकै हातबाट मारिन पुगिन् । अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिरहँदा सहकर्मीहरू मलिन अनुहारमा थिए । जहाँ सन्नाटा छाएको थियो । घरपरिवार आफ्नो मान्छे गुमाउँदाको पीडाले छटपटाइरहेका थिए । भावविहोल थिए । त्यहीबीच मोरङको लेटाङमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्पगुञ्छा अर्पण गरे ।
फागू पूर्णिमाका दिन विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।
अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको आइतबार राति मृत्यु भएको थियो ।

स्थलगत अनुगमन
घटना सम्वन्धमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिसी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थलगत अनुगमन तथा जानकारी लिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
उर्मिला श्रेष्ठ २०७६ साल साउन १ गते नेपाल प्रहरीमा भर्ती भएकी थिइन् । श्रेष्ठले एकै पल्टनमा कार्यरत प्रहरी जवान नवीन श्रेष्ठसँग गत बैशाखमा विवाह गरेकी थिइन् । उर्मिलाका दाजु पनि नेपाल प्रहरीमै कार्यरत छन् । शान्ति स्थापनाका लागि खटिएको नेपाल प्रहरीमाथि आक्रमण र छुरा प्रहार भएको र एकजनाको ज्यानै गएको यो घटनाको सर्वत्र विरोध भइरहेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिनुपर्ने माग सबैले गरेका छन् ।

जाँचबुझ गर्ने गृहमन्त्रीको प्रतिबद्धता
उता गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाको जाँचबुझ गरिने बताएका छन् ।
गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’
गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । त्यस्तै उनले कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
गृहमन्त्री खाणले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीलाई टेलिफोन गरी कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
घटनामा २९ प्रहरी घाइते भएका थिए । ती मध्ये अहिलेसम्म पाँच प्रहरी कोशी अस्पतालमा उपचाररत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend