Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लेटाङ सामान्य अवस्थामा फर्किँदै

हाम्रो कोशी आवाज
चैत्र ९ २०७८, बुधबार
लेटाङ सामान्य अवस्थामा फर्किँदै

विराटनगरः मोरङको लेटाङमा लगाइएको कर्फ्यू बिहीबार बिहान ६ बजे (भोलि) देखि हटाइने भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुधबार साँझ एक सूचना जारी गरेर बिहीबार बिहानदेखि कर्फ्यू हटाउने जानकारी दिएका हुन् ।
लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुव्यवहार गरेको विरोधमा आइतबार लेटाङमा प्रदर्शन भएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रको दक्षिणमा लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सम्पूर्ण क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नम्बर ६को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरेको थियो । अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु हटाउने तयारी भएको प्रजिअ दाहालले जानकारी दिए ।
गत चैत ४ गते होली खेल्ने क्रममा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले छात्रालाई दुर्व्यवहार गरेको विषयमा चैत ६ गते आइतबार विद्यालयमा आगजनी र तोडफोड भएको थियो । आइतबार साँझ छात्र छात्रा र अभिभावकको अनियन्त्रित भिडले विद्यालयमा आगजनी, तोडफोड र ढुंगामुढा प्रहार गरेका थिए ।
उत्तेजित भीडले आक्रमण गरी रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको छुरा प्रहार गरी हत्या गरेपछि अवस्था थपतनाव ग्रस्त भएको थियो । बालिकामाथि दुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेको तथा प्रहरी जवानलाई छुरा प्रहार गर्ने व्यक्तिको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रदर्शन उग्र बनेपछि प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो । सोही क्रममा प्रहरी जवान श्रेष्ठको आक्रमकारीले छुरा प्रहार गरेर ज्यान लिएका थिए । घटनापछि मोरङ प्रशासनले सुरक्षाको कारण दर्शाउँदै लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो ।
नेपाल प्रहरीले लेटाङ घटनाको छानबिनका लागि प्रहरी मुख्यालय काठमाडौं, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ । घटनामा प्रहरी र सर्वसाधारण गरी २८ जना घाइतेसमेत भएका थिए । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको छ । प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
बुधबारसम्ममा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई जिल्ला प्रहरी विराटनगरमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ ।

प्रकाशित मिति: चैत्र ९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend