धरानः पानी पर्ने विश्वास र विश्वशान्तिको कामना गर्दै पूजा लगाइएको छ ।
धनकुटाको छथर गाउँपालिका वडा नं. ५ तामालिङ यकमा विश्वशान्ति अष्ट होम सेवा पूजा आयोजना गरिएको हो । किरात साम्यो हाङ्साम माङ्हीम (मन्दिर) को आयोजनामा यस्तो कार्यक्रम आयोजना भएको हो । अध्यक्ष दलबहादुर थोक्लेन लिम्बूका अनुसार विशेषतः यस्तो पूजा लगाए पानी पर्ने विश्वास भएकोले यस्तो पूजा आयोजना हुने गरेको छ ।
‘झण्डै पाँच महिनादेखि पानी नपरेर बालीनाली सुक्न थालेपछि यहाँ वर्षेनी यस्तो पूजा आयोजना गर्दै आएका छौं’, उनले भने, ‘पूजा सम्पन्न भइसकेपछि पानी पनि परिहाल्छ ।’ गत मङ्गलबार त्यहाँ यस्तो पूजा सकिनेवित्तिकै पानी समेत परेको थियो । ‘पानी परेपछि विशेषतः किसानहरुमा खुशी छाउँछ, यसपटक पनि त्यस्तै भयो’, स्थानीय रनमाया लिम्बूले भनिन् । यस्तो पूजा आराधाना गरे पानी पर्ने विश्वासले वर्षेनी पूजा गर्न थालिएको उनले बताइन् । ‘खडेरीले बालीनाली सुकाउँछ । विभिन्न प्रकारका रोगव्याधी भित्रन सक्ने खतरा बढ्छ, उनले भनिन्,‘पूजापाठ गर्दा पानी पर्ने विश्वास रहँदै आएको छ तर पुग्छ पनि ।’
खडेरीले भित्रयाउन लागेको बाली सोत्तर भइसक्यो । भएका बाली भित्रयाउन सकिने अवस्था छैन । हिउँदेबाली नै सखाप भएपछि किसान चिन्तित छन् । ५ नं. वडाध्यक्ष समेत रहेका स्थानीय सुरेन्द्रकुमार लिम्बूले भने, ‘हिउँदमा हिउँ परेन । हिउँदेबाली सखाप भइसक्यो । आगामी लगाउन लागेको बाली समेत सप्रियोस् भनेर गरिएको यस्तो पूजा सबै किसानका लागि फलिफाप बन्दै गएको छ ।’
विश्वशान्ति अष्ट होम सेवा पूजामा प्रमुख अतिथिका रुपमा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य शिवबहादुर आङ्ला, धरानस्थित युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, युमा चन्द्रकला योङहाङ, कलाकार संगीता लावती, वडा सदस्य दुर्गाबहादुर लिम्बूलगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
विशेषतः किरात साम्यो हाङ्साम माङ्हीम (मन्दिर) मा महागुरु फाल्गुनन्दको मार्गदर्शनलाई शिरोधार्य गर्दै प्रचार गरिँदै आएको अध्यक्ष लिम्बूले जानकारी दिए । यहाँ विशेषतः सत्यहाङमा दर्शनलाई अङ्गीकार गर्दै आएको पनि उनले जानकारी दिए ।
किरात धर्म तथा सेवा सावा संघका केन्द्रीय उपाध्यक्ष जीवन योङहाङले तेस्रो पुस्ताका अनुयायी धर्मगुरु स्व. देवबहादुर तुम्बापोकै पहलमा यहाँ माङ्हीम स्थापना भएको बताए । तस्वीरहरुः हाम्रो कोशी आवाज


























