धरानः धरान-१६ स्थित सियोन स्कुलमा ‘सिङ्गीङ स्टार-२०७८’ प्रतियोगिता आयोजना गरेको छ ।
विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले वर्षेनी यस्तो प्रतियोगिता आयोजना हुँदै आएको छ । यो सातौं संस्करण हो । गायनमा विद्यार्थीको रुचि बढ्दै गएको र विद्यार्थीमा पनि लुकेको प्रतिभा हुने भएकोले उनीहरुको प्रतिभा प्रष्फुटन गर्न कार्यक्रम आयोजना गरिएको डाइरेक्टर खड्गबहादुर थापामगरले जानकारी दिए । ‘बालबालिकाको अन्तरनिहीत प्रतिभा बाहिर ल्याउन सियोन स्कुलले अतिरिक्त क्रियाकलापअन्तर्गत विविध कार्यक्रम गर्दै आएको छ’, उनले भने, ‘वर्षेनी आयोजना हुँदै आएको सिङ्गीङ स्टारलाई यसपटक पनि निरन्तरता दिइएको हो ।’
प्रतियोगितामा सिनियरतर्फ कक्षा–९ की सलिना राईले उपाधि जितिन् । यस्तै, जुनियरतर्फ कक्षा–४ का आमोश वान्तावाले उपाधि जिते । उनीहरु दुवैजनालाई २५ सय रुपैयाँ, गिफ्ट ह्याम्पर, प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, सिनियरतर्फ कक्षा–७ का सुमित लिम्बू फस्टरनर अप, कक्षा–९ का पर्क जोसेफ राई सेकेण्ड रनरअप बने । यस्तै, जुनियरतर्फ युफु थापा मगर र प्रमेश राई क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप बने ।
स्कुलका डाइरेक्टर थापा मगर, प्रिन्सिपल सञ्जीव वान्तावा राई, सहायक प्रिन्सिपल राकेश चौधरीलगायतले विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको निर्णायकहरुमा गायक, सङ्गीतकार विनुमान मोते, एल्कन मगर, अध्यापक उमेश प्रधान, दिनेश दर्नाल, सुजाता सुनुवार रहेका थिए । कार्यक्रमको संयोजक अध्यापक उमेश प्रधान र रोशन मगर रहेका थिए । कार्यक्रमको सञ्चालन अध्यापक करुणा बराइली र सुरज राईले गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज



































