Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पानी खुवाउन बोर्ड असफल !

हाम्रो कोशी आवाज
चैत्र ११ २०७८, शुक्रबार
धरानमा पानी खुवाउन बोर्ड असफल !

धरानः बोर्डको नेतृत्व गैर जिम्मेवार भएको कारण धराने जनताले पर्याप्त पानी खान नपाएको नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले जनाएको छ ।
केन्द्रको दोस्रो पूर्ण बैठकको ८ बुँदे धारणाहरु सार्वजनिक गर्दै सो माग गरिएको हो । केन्द्रको दोस्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोर्डको नेतृत्व गैरजिम्मेवार भएको कारण धराने जनतालाई पानी खुवाउन असफल भएको जनाइएको छ । ‘धरानमा हाल खानेपानीको अभाव छ, नगर प्रमुख र उपप्रमुखले खानेपानी व्यवस्थापन बोर्डको नेतृत्व गरिरहनुभएको छ, उहाँहरुले आजका दिनसम्म बोर्डको नेतृत्व गर्दा पनि न त धारामा पानी पर्याप्त दिनसक्नुभएको छ, न त पानीको अभाव हुनुको कारण नै प्रष्ट पार्न सक्नुभएको छ’, अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) र सचिव विदुर महतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण नगर प्रमुख र उपप्रमुखले बोर्डको नेतृत्वबाट राजीनामा दिन र खानेपानी व्यवस्थापन बोर्डलाई व्यवििस्थत बनाउन सुनसरी उद्योग वाणिज्य संघलाई नेतृत्व दिन माग गर्दछौं ।’

यस्तै, केन्द्रले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाल सरकारबाट गरिएको स्वास्थ्य बीमा सेवा स्थगित गर्ने भनी जारी सूचनाप्रति आपत्ति जनाएको छ । ‘सरकारबाट करोडौं अनुदान प्राप्त गरिरहेको प्रतिष्ठानले जनताको सेवा बन्द गर्ने कार्य राजनीतिक प्रेरित भएको ठहर गरेका छौं’, जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्य नगर्न सम्बन्धित पदाधिकारीलाई अनुरोध गर्दछौं । साथै बीमा सेवा सम्बन्धी रकम भुक्तानी नियमित गर्न जोडदार माग गर्दछौं ।’
केन्द्रले नेपाल सरकारबाट राष्ट्रिय भूमि आयोग गठन भइसकेको र धरान उपमहानगरपालिकाको नेतृत्वको ढिलासुस्तीले समयमै आयोगसँग सम्झौता हुन नसकी भूमिहीन, दलित, अव्यवस्थित सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने कार्य ढिलाइ भइरहेको जनाएको छ । केन्द्रले चैत मसान्तभित्र आयोगलाई सिफारिस गर्न माग समेत गरेको छ ।
सुन्दरवस्तीलगायतका वस्तीहरुलाई नै उठाउन खोजेमा आपत्ति जनाउँदै केन्द्रले कालापानी र देवीथान क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न माग गरेको छ । सर्दु जलाधार क्षेत्रमा फँडानी, अतिक्रमण भइरहेको र सो रोक्नुपर्ने केन्द्रको माग छ । बढ्दो, महङ्गी नियन्त्रण, सरकारी कार्यालय तथा स्थानीय तहको कार्यालयहरुमा ढिलासुस्ती तथा भ्रष्टाचारजस्ता गतिविधि नियन्त्रण, बीपी प्रतिष्ठानमा अराजकता, भ्रष्टाचार र विकृति नियन्त्रण गर्न र प्रतिष्ठानलाई धरासायी हुनबाट जोगाउन प्रभावकारी हस्तक्षेप गर्न समेत केन्द्रले माग गरेको छ ।
कार्यक्रममा केन्द्रका केन्द्रीय सदस्य किरणकुमार राई, सुनसरी जिल्ला सहइन्चार्ज मुक्सामहाङ मेन्याङ्बो, सहइन्चार्ज अइन्द्रविक्रम बेघा, प्रदेश १ का सदस्य पूर्ण भुजेल, धरान नगर इन्चार्ज चोत्लुङलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: चैत्र ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend