धरानः धरान-१७ स्थित इमानुएल इङ्लीस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) प्राप्त गर्न सफल भएपछि स्कुलमा अध्यापनरत् शिक्षक-शिक्षिकालाई सम्मान गरिएको छ ।
सहायक प्रिन्सिपल पूर्णकुमार राई, कोअर्डिनेटर अर्जुनकुमार राईलगायत सबै शिक्षक–शिक्षिकालाई कार्यको प्रशंसा गर्दै सम्मान गरिएको थियो । प्रिन्सिपल प्रभाष राजवंशीले प्रमाणपत्र वितरण गरेका थिए । ‘खासमा शिक्षककै कारण विद्यालयले प्रगति गरेको हो’, प्रिन्सिपल राजवंशीले भने, ‘त्यही भएर उनीहरुका लागि सम्मानको कार्यक्रम आयोजना भएको हो ।’ विद्यालयका सबै विद्यार्थीको उपस्थितिमा उत्सव मनाउँदै उनीहरुलाई सम्मान गरिएको थियो । उनले विद्यालयले अवार्ड प्राप्त गरेपछि विद्यालयको गरिमा र विद्यार्थीले पनि राम्रो काम गर्न सफल भएको भन्दै गर्वको महसुस भएको बताए ।
सुनसरीबाट दुई विद्यालयमध्ये धरानबाट एकमात्र स्कुल इमानुएलले अवार्ड हात पारेको थियो । प्रिन्सिपल राजवंशीका अनुसार ब्रिटिस काउन्सिल नेपालले २५ जनवरी २०२२ मा आयोजित भर्चुअल अवार्ड समारोहमा नेपालका १०७ विद्यालयहरुलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो । ५४ विद्यालयले नेपालभरीमा पूर्ण आइएसए अवार्ड पाएका थिए । त्यसमध्ये इमानुएल स्कुलले पूर्ण आइएसए पाएको हो ।
काउन्सिलले ‘प्रोजेक्ट वर्क’ गराउने गरेको सो आधारमा पुरस्कार प्रदान गर्ने गरिन्छ । ‘विद्यार्थीको बौद्धिक विकाससँगै प्रयोगात्मक कुरालाई लिएर सामाजिकरुपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रयास गरिने खालको कार्यक्रम हो’, प्रिन्सिपल राजवंशीले भने, ‘हाम्रा विद्यार्थीले विशेषतः पञ्चकन्यामा माविसँगको साझेदारीमा बालविवाह, राष्ट्रिय गान, जातीय पोशाक, अर्गानिक फामिर्ङ गुड हेल्थ, स्किल हेन्डराइटिङलगायत ७ विधामा प्रोजेक्ट वर्क गरेका थिए’, उनले भने, ‘त्यसै आधारमा हाम्रो विद्यालय छनौटमा परेको हो । बंगलादेश, पाकिस्तान, युके, भारतलगायतका देशसँग साझेदारी प्रोजेक्ट वर्क गरेको उनले जानकारी दिए ।
यो नेपाली विद्यार्थीलाई अवार्ड प्रदान गरिएको ९ औं हो । यस पुरस्कारलाई र शिक्षा तथा मानव संशाधन विकास केन्द्रले अनुमोदन समेत गरेको छ । अवार्ड बिजेता विद्यालयले तीन वर्षसम्म आफ्ना सबै शैक्षिक प्रवद्र्धन सामग्रीहरुमा आफ्नो विद्यालयको लोगोसँगै प्रतिष्ठित इन्टरनेशनल स्कुल अवार्ड काइटमार्क प्रयोग गर्न पाउनेछन् ।
अन्ततः के हो आइएसए अवार्ड ?
ब्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) भनेको बेन्च मार्किङ स्कीम हो । यसले स्कुललाई उत्कृष्ट स्तरमा परियोजनामुखी शिक्षण विधिको माध्यमबाट युवालाई ग्लोबल सिटिजन बनाउने क्षमतामा अभिवृद्धि गराउने लक्ष्य राखेको छ । साथै पढाउने र अध्ययनको क्षमता बढाउँछ । सन् १९९९ बाट पाइलट प्रोग्रामका रुपमा काउन्सिलले यो कार्यक्रमको शुरुवात गरेको हो । यो पुरस्कार पाउने विद्यालयले आइएसए ट्रफी, स्कुल, प्रिन्सिपल र कोअर्डिनेटरका लागि सर्टिफिकेट, कार्यालयका स्टेशनरी र प्रकाशनमा आइएसएको छापको प्रयोग तथा प्रबन्धनात्मक सामग्री प्रदान गर्दछ ।
यो एउटा कनेक्टिङ क्लासरुम प्रोजेक्ट हो । नयाँ शिक्षण पद्दतिको रुपमा परियोजना विधिको प्रयोग हुन्छ । डिजिटल लक्ट्रेसी क्रिटिकल थिङकिङ एण्ड प्रोब्लम सल्भिङ, क्रियटिभिटी एण्ड इम्याजिनेशन, स्टुडेन्ट लिडरसीप, कोलावोरेसन एण्ड कम्युनिकेशन र ग्लोबल सिटिजनसीपमा जोड दिने हुनाले यसको आवश्यकता पनि बढ्दै गएको पाइएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज































