विराटनगरः मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो अर्थात १५ लाख रुपैयाँ बराबरका चाँदीका गहना प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले महोत्तरीको बर्दीबासबाट सो गहना बरामद भएको जानकारी दिए । गहनासहित एक व्यक्तिसमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास–१ का ३४ वर्षीय मनोज ठाकुर रहेका छन् । प्रहरीले पक्राउ परेका ठाकुरलाई महोत्तरीबाट बेलबारी ल्याएको छ ।
नक्कली प्रहरी बनेर गत चैत ८ गते बेलबारी नगरपालिका–४ बाट १२ किलो ८८१ ग्राम चाँदीका गहना लुटेर एक व्यक्ति भागेका थिए । करिब १५ लाख रूपैयाँ बराबरको लुटिएको गहना प्रहरीले ठाकुरको घरबाट बरामद गरेको हो । झापाको दमकस्थित पाथीभरा ज्वेलर्स एन्ड सप्लायर्सले बर्दिबासका सुनचाँदी पसलहरुले दिएको अर्डरअनुसार तयार पारिएको चाँदीका गहना कामदार ओम कालिकोटेमार्फत पठाएको थियो ।