धरानः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा दिउँसो को३१प ५३९६ नम्बरको मोटरसकल आफै अनियन्त्रित दुर्घटना हुँदा घाइते भएका स्थानीय २३ वर्षीय अमृत विकको उपचारको क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी झापाको गौरादह नगरपालिका–१ मा बेलुका पानी बोक्ने ट्याङकरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गौरादहको भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे२प ३९१२ नम्बरको मोटरसाइकल सडकमा बिग्रिएर रोकिराखेको को१ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३६ वर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६ स्थित भित्री सडक खण्डमा पिकअपको ठक्करबाट १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । प्रदेश १–०१–००१ च ९१०७ नम्वरको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री अर्जुनधारा–६ का ५३ वर्षीय कृष्ण निरौलाको घटनास्थलमै मृत्यु भएको हो भने घाइते भएका बिर्तामोड नगरपालिका–५ का ४५ वर्षीय अर्जुन उप्रेतीको उपचार भइरहेको छ । ठक्कर दिने पिकअप र सह–चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।