Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाथीभरा मन्दिर पुग्ने भक्तजनलाई राष्ट्रिय फूलले स्वागत

हाम्रो कोशी आवाज
चैत्र २० २०७८, आइतबार
पाथीभरा मन्दिर पुग्ने भक्तजनलाई राष्ट्रिय फूलले स्वागत

ताप्लेजुङ: फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृष्य पाथीभरा मन्दिर जाने पदमार्गको हो ।
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै अहिले पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिएको छ । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ ।
लालीगुराँसले यतिबेला पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बनाएको छ । फागुनको अन्त्यतिर कोपिला लाग्न सुरु हुने लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीले बताएका छन् । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दछ ।
पाथीभरा जाने पदमार्गमा ढकमक्क गुराँस फुलेपछि तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको संख्या बढ्दै गएको हो ।
नवरात्रको समयमा पाथीभरा क्षेत्रमा पूजा पाठ गर्ने समय र यसै समय प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृष्यको अवलोकन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । गत शनिबार मात्र छ हजार ८७७ तीर्थयात्री दर्शन पाथीभरा क्षेत्रमा पुगेको थियो । आइतबार तीन हजार ८०० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेका छन् ।
नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ । कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत वन्यजन्तु तथा पन्छी पाइने गर्दछन् ।
पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेंलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजाति समेत रहेका छन् ।

प्रकाशित मिति: चैत्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend