झापा: ग्रामीण किसानलाई लक्षित गरी शिवसताक्षी नगरपालिका-६ मा ‘रिटेल मार्केट’ निर्माण सुरु गरिएको छ । पालिकाले एक करोड चार लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण सुरु गरेको मार्केटको ५० प्रतिशत काम पूरा भइसकेको नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । उनका अनुसार विसं २०७८ माघमा सो रकममा निर्माण कार्य विसं २०७९ असारमा सम्पन्न गर्ने गरी भीमेश्वर कन्स्ट्रक्शन प्रालिले ठेक्का पाएको छ ।
करिब एक बिघा नौ कट्ठा जमिनमा निर्माण भइरहेको मार्केटमा ५० कक्ष रहने उनले जानकारी दिए। पालिकाको दक्षिण क्षेत्रमा रहेका वडामा कृषिजन्य वस्तुको उत्पादन धेरै हुने र बजारीकरणमा समस्या भइरहेका कारण मार्केटको अवधारणा ल्याइएको उनले बताए । “अब किसानका उत्पादनले बजार पाउँछ”, उनले भने, “किसानको उत्पादनले बजार पाएसँगै उनीहरुको जीवनस्तरमा परिवर्तन आउँछ ।”
रिटेल मार्केटभित्रै ३६ लाखको लागतमा ‘अक्सन सेन्टर’ समेत निर्माण भइरहेको नगरकी उपप्रमुख भोजकुमार नेपालले जानकारी दिए। उनले जिल्लाका अन्य क्षेत्रमा समेत उत्पादन भएका कृषिउपज सामाग्रीलाई लिएर बिक्री वितरण गर्ने उद्देश्यले अक्सन सेन्टर निर्माण गर्न थालिएको बताए ।
उपप्रमुख नेपालले अक्सन सेन्टर निर्माणपछि स्थानीयस्तरमै कृषिजन्य सामग्रीको प्रवद्र्धन गर्न सकिने आशा व्यक्त गरे । उनले भने, “बजारमुखी र प्रतिस्पर्धात्मक कृषि उत्पादन गर्न सघाउन पुर्याउने, कृषिजन्य वस्तुको आन्तरिक बजार तथा निर्यात प्रवद्र्धनमा योगदान पुर्याउने हाम्रो उद्देश्य हो, यसले यो पूरा गर्नेछ ।”
पालिकाभित्रका बजार पाराबारी, मङ्गलबार लगायतका क्षेत्रमा कृषि बजार निर्माण गरेको छ भने यसै आर्थिक वर्षभित्रमा धौलेचोक बजार र शिवगञ्ज बजारमा समेत कृषि बजार बनाउनका लागि डिपिआर तयार गरिसकेको नगरका निमित्त प्रशासकीय अधिकृत प्रकाश चौधरीले जानकारी दिए ।