Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीनजुरे लाली गुराँसले राताम्मे, आन्तरिक पर्यटकको लर्को

हाम्रो कोशी आवाज
चैत्र २१ २०७८, सोमबार
तीनजुरे लाली गुराँसले राताम्मे, आन्तरिक पर्यटकको लर्को

संखुवासभाः संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी टिएमजे क्षेत्र अहिले लालिगुराँसले राताम्मे भएकाे छ । चैत, वैशाखमा फुल्ने लालीगुराँस केही समयदेखि माघ, फागुनदेखि नै फुले पनि अहिलेसम्मै तीनजुरे वन क्षेत्र राताम्यै देखिन्छ ।
लालीगुराँस फुलेपछि गुराँसको राजधानी तीनजुरेले सबैको मन लोभ्याउने गर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुलेसँगै यतिबेला सेल्फी लिनेहरुको भीड लागेकाे छ । तीनजुरेका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भिड बढेकाे छ ।
तीनजुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो । गुराँस फुल्ने सिजन सुरू भएसँगै तीनजुरे क्षेत्र रातै भएको देख्न सकिन्छ ।
गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको छ । प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने सिजन सुरु भएकाले रमाइलो भएको आन्तरिक पर्यटक छिना घिसिङले बताइन् । संखुवासभाको पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जंगल छ । गुराँस फुल्ने सिजनमा तीनजुरे क्षेत्रमा आन्तिरक र वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।
तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन । यस्तै, कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ, जस्ता प्रजाति पनि रहेका छन्।
हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झन्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँसले तीनजुरे क्षेत्र भरिएको छ।

 

प्रकाशित मिति: चैत्र २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend