धनकुटाः जिल्लाको शहिदभूमीमा गाँजा सचेतना मेला आयोजना गरिएको छ ।
गाँजा वैधानिक अभियान समूहले धनकुटा, भोजपुर, सुनसरी र उदयपुरका किसान प्रतिनिधि, गाँजा विज्ञहरुलाई गाँजा सचेतना सम्बन्धी प्रशिक्षण दिएको हो ।
सहभागीहरूलाई प्रशिक्षणमार्फत् मेला आयोजना गरेर प्रतिबन्धित गाँजाको बहुुउपयोगिता बारे किसान माझ बहस चलाइएको हो ।
हाल संयुक्त राष्ट्र संघले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधिय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि बैधानिकता दिनुपर्ने अभियान्ताहरूले माग गरेका छन् ।
मेलामा झोला, लत्ताकपडा, जुत्ता, मास्क जस्ता गाँजा बाट बनेका उत्पादनको प्रदर्शनी र बिक्री स्टल समेत राखिएको छ । मेलामा नेपालका बिभिन्न संस्थाका गाँजा अभियान्ताहरुले ऐक्यबद्धता जनाएका छन् ।
कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियान्ता संस्थाका केन्द्रीय सल्लाहाकार राजीव काफ्ले तथा स्थानीय पालिकाका प्रमुखहरुले गाँजाको विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजा मध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र युरोपमा २५ लाखसम्म रहेकोले नेपालको लागि गाँजा प्रमुख आयश्रोत हुने अभियान्ताहरुको दाबी छ ।
कार्यक्रममा विश्व हिन्दू महासंघका अध्यक्ष ऋषिकेशजंग शाह, गाँजा बैधानिक अभियान्ता जोसेफ मदन कोइराला, सहिदभूमी गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राई लगायत स्थानीय कृषकहरुका प्रतिनीधिहरुले आफ्ना धारणा राखेको आयोजक समितिका सदस्य सचिव नरेन्द्र राई (कश्चित) ले जानकारी दिए ।
सरकारले गाँजालाई लागूऔषधका रुपमा राखेकाले धनकुटाको छिन्ताङ क्षेत्रबाट मात्र हरेक वर्ष ३० जनाभन्दा बढी ब्यक्तिहरु गाँजाको विषयमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तिर्थ राईले जानकारी दिए ।