विराटनगर: सोमबार राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ ।
प्रदेश नं १ सरकारका नवनियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले पाँचथरका डा पूर्ण लक्समलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए।
त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा ज्ञानेन्द्रबहादुर कार्की (सङ्खुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताए । त्यस्तै बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ ।
सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय भएको छ । बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेशन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए ।
प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई बर्खास्त गरेको छ। सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरूलाई हटाएको हो।
सोमबारको मन्त्रिपरिषद बैठकले मेन्याङ्बो र बस्नेतलाई पदमुक्त गरेको हो। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू नियुक्त गरेका थिए। प्रदेश खेलकुद ऐन अनुसार बोर्ड पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ।
एमाले कोटामा नियुक्त उनीहरूलाई सरकारले ६ महिनामै हटाएको हो। राजेन्द्र राई मुख्यमन्त्री बनेर नयाँ मन्त्रिपरिषद बनेपछि सामाजिक विकास मन्त्री राजन राईले माघ अन्तिममा मेन्याङ्बो र बस्नेतलाई तीन दिने स्पष्टीकरण सोधेका थिए।
उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको सरकारले बताउँदै आएको थियो ।