उदयपुरः बेलका नगरपालिका-३ बुद्धचोककी युवती कविता सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
नियन्त्रणमा भएका दुई युवकको छानबिन भइरहेको भन्दै प्रहरीले उनीहरुको पूर्ण विवरण भने सार्वजनिक गरेको छैन । ट्युसन पढ्न गएकी सुनुवारको शव घोप्टो परेको अवस्थामा यसोधा खोलाको डिलमा भेटिएको थियो ।
मृतक सुनुवार श्री कोशी जनता उच्च मावि रामपुरमा कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालय जान निस्किएकी सुनुवारको मङ्गल बिहान हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको कविता अध्ययनरत विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले बताएका छन् ।

विद्यालयले एक विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाएर र कडा सजाय दिन माग गरेको छ । विद्यालयले आज एक अनुशासित र मेहिनती विद्यार्थी गुमाएको पनि उल्लेख गरेको छ । स्थानीयले हत्याको आशंका गर्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले समेत प्रदर्शन गर्दै हत्यारालाई तत्काल पक्राउ गरेर कारवाहीको माग गरेका छन् । प्रहरीले भने घटनाबारे अध्ययन भइरहेको जनाएको छ ।
