उदयपुरः उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवार राईको हत्यामा उनकै साथीसहितको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिलेसम्म कविताको हत्याबारे आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानले कविताको हत्यामा साथीकै संलग्नता देखिरहेको छ । यतिखेर प्रहरीले कविताकै दुईजना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘केही क्लू भेटेरै उनीहरु नियन्त्रणमा छन्’, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहाल भन्छन्, ‘थप अनुसन्धान भइरहेकोले अहिले नै केही भन्ने अवस्था छैन ।’
पक्राउ परेका दुईजना दाजुबहिनी रहेको खुलेको छ । पक्राउ पर्नेमा मृतक छात्राकै १७ वर्षीय (नाबालिग) सहपाठी र उनका दाजु (काकाका छोरा) विनोद ढकाल रहेको उदयपुर प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गाईघाट पुरयाइएको बुझिएको छ । ‘नियन्त्रणमा रहेका एक जना २२-२३ वर्षका छन् । कविताकै साथी हुन् । सधैं ट्युसन जाने रहेछन्, तर आज नगएपछि खोजी गर्दा उनको पनि शरीरमा चोटपटक देखिएको छ । कविताको अनुहार क्षतविक्षत अवस्थामा छ। उनको अनुहार चिन्न निकै गाह्रो हुने अवस्थामा भेटिएको छ।’ उदयपुर प्रहरी स्रोतले भन्यो ।
कविता र उनकै कक्षामा पढ्ने अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको प्रहरी स्रोतको दावी छ । एसईईको तयारी गरिरहेका उनीहरूबीच एक युवतीको विषयमा विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको जनाएको छ । प्रहरीले ढकाल थरका किशोरकिशोरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन्।
उदयपुरको बेलका नगरपालिकास्थित बुद्धचोककी सुनुवार एसईई परीक्षाको तयारीमा थिइन् । अतिरिक्त कक्षा (ट्युसन) का लागि हरेक बिहान झिसमिसेमै स्कुल निस्किन्थिन् । अनि, एकैपटक साँझ घर फर्किन्थिन् । तर, मंगलबारको ‘सेड्युल’ यस्तो हुन सकेन । १७ वर्षिया कविता सधैंझैं बिहान ४ बजे नै घरबाट ट्युसनका लागि निस्किएकी थिइन् तर, स्कुल पुग्न सकिनन् । घर नजिकैको यशोदा खोलामा मृत फेला परिन् ।
कविता पढ्ने कोशी जनता माध्यमिक विद्यालय। कविताको क्रुर हत्या भएको भन्दै विद्यालय प्रशासनले मंगलबार नै विज्ञप्ति जारी गरेर जतिसक्दो चाँडो दोषीलाई पहिचान गरी कारवाही गर्न माग गरेको छ । ‘विद्यालयमा नियमित रुपमा अध्ययनरत छात्राको विद्यालय आउने क्रममा बाटोमा भएको यो क्रुर र हिंस्रक घटनाको विद्यालय परिवार घोर भर्त्सना र निन्दा गर्दछ,’ विद्यालयका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिक र विशेषगरी बालिकाहरुको जिउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरुसँग माग गर्दछौं । एक अनुशासित र मिहिनेती विद्यार्थी गुमाउनुपर्दा विद्यालय परिवार अत्यन्त दुःखी छ ।’