धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको वनझाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो ।
प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले वनझाँक्रीको स्तम्भलाई ओढाइएको पर्दा उघारेर पार्क उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री राईले महालक्ष्मीको पर्यटन प्रवद्र्धनका लागि पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राईले बहुवर्षीय परियोजनाबाट पार्क बनेको भन्दै अब यसले पर्यटकहरुलाई आकर्षित गर्ने धारणा राखे ।
महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय सिमितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पूर्व प्रतिनिधिको तर्फबाट अग्नीप्रशाद पौडेल, महालक्ष्मीका उप–प्रमुख मञ्जुकुमारी अधिकारी लगायतले वनझाँक्री पार्कले महालक्ष्मीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

महालक्ष्मीको झाँक्री डाँडामा २ करोड ८३ लाख ७९ हजारको लागतमा बन झाँक्री पार्क निर्माण गरिएको हो । महालक्ष्मीमा आन्तरिक र वाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क बनाइएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । ‘हामीले चुनावका बेला वनझाँक्री पार्क बनाउने प्रतिबद्धता गरेका थियौं, घोषणापत्रमा पनि लेखेका थियौं,’ नगर प्रमुख नेपालले भने, ‘महालक्ष्मीमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर पर्यटन प्रवद्र्धन गर्न पार्क बनाएका हौं ।’
धनकुटाको महालक्ष्मी नगरपालिकाले साविक गाउँ विकास समितिका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । महालक्ष्मी वडा नं.–६ र ७ मा निर्माण गरिएको वन झाँक्री पार्क उद्घाटनको अवसर पारेर एक दर्जन भन्दा बढी पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
साविकको जीतपुर, लेगुवा, मूर्तिढुंगा, मारेककटहरे, चानुवा र डाँडागाउँ गाविस मिलेर महालक्ष्मी नगरपालिका बनेको हो । पहिले गाविसमा हुँदा रहेका जनप्रतिनिधिहरुलाई नगरपालिकाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा साविक अर्खौले जीतपुर गाविसका अध्यक्ष अग्नीप्रसाद पौडेल, चानुवाका अध्यक्ष दीपक बुढाथोकी, मूर्तिढुंगाका अध्यक्ष घनेन्द्रराज श्रेष्ठ, मारेककटहरेका अध्यक्ष धनबहादुर पुँवर, अर्खाैलेका अध्यक्ष रुद्रबहादुर तुम्बा र मूर्तिढुंगाका अध्यक्ष निर्मल काफ्लेलाई सम्मान गरिएको छ ।

त्यस्तै, लेगुवाका गाउँ पञ्चायत पञ्चप्रधान मानबहादुर मिश्र, लेगुवा गाविसका उपाध्यक्ष सोभित भण्डारी, डाँडागाउँका उपाध्यक्ष चित्रमणी कार्की, मारेककटहरेका उपाध्यक्ष जीतबहादुर अधिकारी, अर्खौले जितपुर गाँउ पञ्चायतका उपप्रधानपञ्च खोजबहादुर खड्का, मूर्तिढुंगा गाउँ पञ्चायतका उपप्रधानपञ्च भक्तलाल मादेन र मारेककटहरे जिल्ला पञ्चायत सदस्य ४ नं. क्षेत्र एवं मारेककटहरे गाउँ पञ्चायत प्रधानपञ्च लिलाबहादुर केसी लगायतलाई सम्मान गरिएको हो ।
उनीहरुलाई पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश सांसद इन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारीलगायतले दोसल्ला र अबिर लगाई सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।
यस्तै, नगरको लोगो निर्माण गर्ने मुकुन्द प्रयास र नगर गानका रचनाकार कृष्णकुमार रानालाई सम्मान गरेको छ । नगरपालिकाको प्रतिक चिन्ह लोगो आफ्नो कलाको माध्यमबाट निर्माण गर्ने प्रयास र शव्दसील्पको माध्यमबाट नगर गान रचना गर्ने कृष्णकुमार रानालाई सम्मान गरिएको हो । उनीहरुलाई जनही नगद २०–२० हजारसहित प्रशंसापत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरियो । पूर्व मुख्यमन्त्री शेरधन राई, नगर प्रमुख पर्शुराम नेपाल र उपप्रमुख मञ्जु अधिकारीलगायतले उनीहरुलाई सम्मान गरे ।