धरानः सत्ता साझेदार दलहरुले सुनसरीमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । त्यसका लागि पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।
सत्ता साझेदार पाँच दलको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले चुनावी गठबन्धन गर्ने र पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सचिव वीरेन्द्र साह, माओवादी केन्द्रबाट मुक्साहाङ मेन्याङ्वो (मुकेश), एकीकृत समाजवादीबाट वसन्त सुवेदी, जसपाबाट प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाबाट हरिलाल अधिकारी रहेका छन् ।
गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्रप्रसाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले एक संयुक्त विज्ञप्तिमार्फत् गठबन्धन गर्ने सहमति भएको जनाएका हुन् ।
गठबन्धनमा रहेका ५ दल बाहेकका अन्य दलसँग भने गठबन्धन नगर्ने सहमतिसमेत भएको छ । उक्त कार्यदलले स्थानीय पालिकाहरुको वस्तुगत अध्ययन गरी चैत २६ गतेभित्र प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन तयार पार्न कार्यदलले ६ बुँदे नीति अवलम्बन गर्ने बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पाँच दलीय केन्द्रीय गठबन्धनको नीति निर्देशनलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र जिल्ला समिति समन्वय समिति, पालिका र अवडा तहसम्मै गठबन्धन गर्ने र सबै पार्टीको प्रतिनिधित्व गर्ने बताइएको छ ।
