Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युनाइटेड गोर्खा एकेडेमी भलिबल: इटहरीको नमूना र सयपत्रीलाई उपाधि

हाम्रो कोशी आवाज
चैत्र २४ २०७८, बिहिबार
धरानमा युनाइटेड गोर्खा एकेडेमी भलिबल: इटहरीको नमूना र सयपत्रीलाई उपाधि

धरानः धरान-१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको ८ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता २०७८ अन्तर्गत छात्रतर्फको उपाधि इटहरीको सयपत्री स्कुलले जितेको छ । यस्तै, छात्रातर्फको उपाधि इटहरीको नमूना स्कुलले जितेको छ ।
फाइनलमा छात्रतर्फ धरानको पुलिस स्कुल र इटहरीको सयपत्री स्कुलबीच भिडन्त भएको थियो । यस्तै, छात्रातर्फ धरान आदर्श र नमूना स्कुल इटहरीबीच भिडन्त भएको थियो । छात्रतर्फ समिट स्कुल धरान र छात्रातर्फ सयपत्री स्कुलले तेस्रो स्थान हात पारेको छ ।
उपाधि बिजेता दुवै विद्यालयले १७ हजार नगद, मेडल, प्रमाणपत्र हात पारे । यस्तै, उपविजेता अर्थात् दोस्रो हुनेले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई १२ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसपटक प्रतियोगितामा छात्रतर्फ ७ टिम र छात्रातर्फ ७ टिम गरी १४ विद्यालयका विद्यार्थीको टिमले सहभागिता जनाएका थिए ।
बिजेता, उपविजेता र तेस्रो हुने टिमलाई एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्पा, कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन सुनसरीका अध्यक्ष नारायण सञ्जेल, प्याब्सनका धरान अध्यक्ष राजकुमार लिम्बू, एनप्याब्सनका अध्यक्ष भगत लिम्बू, एनप्याब्सनका नगर कोषाध्यक्ष वसन राई, समिट स्कुलका प्रिन्सिपल रमेश दाहाल, नमूना एकेडेमी तरहराका प्रिन्सिपल थरेन्द्र अधिकारी, नेपाल पुलिस स्कुल धरानका प्रिन्सिपल डिकेन्द्र रायमाझीलगायतले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा छात्रातर्फ धरान आदर्शकी प्रेसिका पराजुली वेष्ट प्लेयर, नमूना एकेडेमीकी सिर्जना कटुवाल वेष्ट स्पाइकर, नमूनाकै मीना बस्नेत वेष्ट डिफेन्स, नमूनाकी रौका चौधरी वेष्ट बेटर र धरान आदर्शकी सिमरन लिम्बू वेष्ट सर्भिस घोषित भए ।
यस्तै, छात्रतर्फ पुलिस स्कुलका सहेव मन्सुरी वेष्ट प्लेयर, सयपत्री स्कुलका रोशन विष्ट वेष्ट स्पाइकर, पुलिस स्कुलका डिकेन्द्र रावत वेष्ट डिफेन्स, पुलिसकै सौराज यादव वेष्ट बेटर, सयपत्रीका किसन राई वेष्ट सर्भिस र सयपत्रीकै अविसेक चौधरी वेष्ट ब्लकर घोषित हुँदै पुरस्कार जितेका थिए ।
युनाइटेड गोर्खा एकेडेमीको स्कुल मैदानमा आयोजित प्रतियोगिता वर्षेनी आयोजना गर्दै आएको प्रिन्सिपल शेर्पाले जानकारी दिए । शुरुमा पहिलो हुने टिमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारबाट शुरुवात गरिएको प्रतियोगिताको राशी पनि वृद्धि गरिँदै लगिएको उनले जानकारी दिए । ‘वर्षेनी यो प्रतियोगिता हुँदै आएको थियो तर कोरोना कहरले रोकिएको थियो, ३० भन्दा बढी विद्यालय सहभागी हुने प्रतियोगितामा यसपटक धेरै स्कुललाई पत्राचार गरेनौं, कतिपय विद्यालयले असमर्थता पनि जनाए’, उनले भने, ‘जति पनि विद्यालय सहभागी छन्, उनीहरु स्वतःस्फूर्त सहभागिता जनाएका हुन् ।’
प्रिन्सिपल शेर्पाले बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन वर्षेनी यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले विशेषतः पढाइका साथै खेलकुद र मानसिक विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले विद्यालयले पुरस्कारमा मात्रै एक लाख रुपैयाँ बढी खर्चिर्दै आएको बताए । आगामी संस्करण अझै सभ्य, भव्य र कक्षा ११–१२ सम्मका विद्यार्थीलाई समावेश गरेर प्रतियोगिता आयोजना गर्ने उनले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सनका अध्यक्ष सञ्जेलले खेल र शिक्षण सिकाई एक अर्काको परिपुरक भएकोले यस्तो प्रतियोगिता आयोजना हुनु सुखद् रहेको बताए । अभिभावककै कारण विद्यार्थीहरु खेल्ने क्रममै हराउने गरेको उनले धारणा राखे । ‘हाम्रा बालबालिका खेल्छन्, खेलबाटै भविष्य बनाउन चाहन्छन् तर अभिभावकले यसतर्फ ध्यान दिँदैनन्, छोराछोरी खेल्न थाले भने बिग्रिने पो हुन् कि भन्ने चिन्ता हुन्छ’, उनले थपे, ‘खेलले कोही बिग्रिँदैनन्, अनुशासन तरिकाले खेलियो भने अभिभावकको मन जित्छौं साथै राष्ट्रकै मन जित्छौं ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend