सुनसरीः नेकपा एमालेले इटहरी उपमहानगरपालिकामा बहालवाला मेयर–उपमेयरसहित आगामी चुनावका लागि ६ जनाको नाम सिफारिस गरेको छ । आइतवार बसेको एमाले नगरकमिटी सचिवालय बैठकले मेयरमा ६ जना र उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको हो ।
मेयरमा सिफारिस हुनेमा बहालवाला मेयर द्वारिकलाल चौधरी, हाल उपमेयर रहेकी लक्ष्मी गौतम, एमाले उपमहानगर कमिटी अध्यक्ष यमकुमार सुब्बा, नेता रामप्रसाद चौलागाईं, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरी छन् । यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको एमाले स्रोतले जनाएको छ ।
इटहरी उपमहानगरपालिका हाँसपोसासहित पकली, एकम्बा र खनार मिलेर बनेको हो । इटहरीमा एमालेले मेयर/उपमेयरसहित ८ वटा वडामा जितेको थियो । एमालेले वडा नम्बर २, ४, ५, ९, १८, १९, १३ र १४ जितेको थियो ।
पत्रकारको ‘नाकको डाँडी’ भाँच्नेदेखि पत्रकारलाई लोपार्ने लगायतका विभिन्न अभिव्यक्ति दिएर विवादमा आएका चौधरी पुनः मेयरमा सिफारिस भए पनि उनको सम्भावना भने न्यून रहेको एमाले सुनसरीका एक नेताले बताए ।
‘पटक–पटक विवादमा आएका व्यक्ति हुन् चौधरी, पार्टी मिटिङमै रामप्रसाद चौलागाईलाई थप्पड हानेका थिए,’ ती नेताले भने, ‘मेयरको उम्मेदवार गौतम, सुब्बा र चौलागाईंमध्ये एक हुने सम्भावना छ ।’
एमाले इटहरीले उपमेयरमा भने ९ जनाको नाम सिफारिस गरेको छ ।
अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरिएको हो ।