Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन वर्षमा एक किलोमिटर मात्र सडक कालोपत्र

हाम्रो कोशी आवाज
चैत्र २८ २०७८, सोमबार
तीन वर्षमा एक किलोमिटर मात्र सडक कालोपत्र

बिर्तामोडः धुलाबारी-भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ ।
आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भए पनि बजेट अभावमा हाल मेचीनगर नगरपालिका–१० को खयरडाँगीस्थित भेटवाल चोकबाट मेचीनगर–१५ को शिवालय मन्दिर छेउसम्मको सडक मात्र कालोपत्र भएको हो ।
भद्रपुर धुलाबारी खण्डको लागत मूल्य अभिवृद्धि करसहित प्रदेश नं १ को सरकारको कूल २५ करोड ३२ लाख ८४ हजार रुपैयाँमा हिम्डुङ एण्ड थोकर सरोज जेभीलाई ठेक्कामा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताको तीन वर्षको अवधिमा एक किलोमिटर सडक मात्र कालोपत्र गर्न सकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए।
उनले बजेट अभावमा जति काम हुनुपर्ने हो त्यति हुन नसकेको बताए। “प्रदेश सरकारले समयमा बजेट नपठाउँदा काममा ढिलाइ भइरहेको छ”, उनले भने, “आगामी वैशाखको पहिलो हप्ताभित्रमा बजेट आयो भने काम सकिन्छ, त्योभन्दा ढिलो भएमा म्याद थपेर अर्को साल बनाउनुको विकल्प छैन ।”
उनका अनुसार मेचीनगर नगरपालिकाको १० नम्बर वडाको भेटवाल चोकदेखि मेचीनगर–१५ कै ज्यामिरगढीस्थित हडिया खोलासम्मको नौ किलोमिटर सडक कालोपत्र गर्ने योजनामा परेका थियो । योजनाअनुसार नै सडकको दुवै साइटमा नाली खन्ने र सडक कालोपत्र गर्न योग्य बनिसकेको उनको ठहर छ ।
विसं २०७६ कात्तिक २० गते निर्माण कम्पनीसँग २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएर सो सडकको शिलान्यास तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रकुमार आङ्बोले गरेका थिए। उनले जिल्लाका अन्य क्षेत्रमा समेत प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका सडक बजेट अभावमा अलपत्र अवस्थमा रहेको जानकारी दिए।
धुलाबारी–भद्रपुर–जोड्ने यो सडकखण्डमा नेपाल प्रवेश गरेका पर्यटक यही बाटो हुँदै चन्द्रगढी एयरपोर्टबाट काठमाडौँलगायत देशका अन्य भागमा जान सजिलो हुने हुँदा चाँडै निर्माण सक्नुपर्ने नगर उपप्रमुख मीना उप्रेतीको भनाइ छ ।

प्रकाशित मिति: चैत्र २८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend