ओखलढुंगाः ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हर्कपुर स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा तीनजना प्रहरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बुधबार बिहान ९: ४० बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा१७च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा बोलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमै मृत्यु भएको र प्रहरी जवान रुपन विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौंमा मृत्यु भएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाललाई स्थानीय मेडिकलमा उपचारपश्चात् थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानीय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।