सुनसरीः सुनसरीमा ट्रकको ठक्करले एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
मिनी ट्रकले प्रहरी सहायक निरीक्षक (असइ) सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
दुहबी–८ फुटानी चोकस्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा१क ८८१७ नम्बरको मिनी ट्रकले सोही दिशाबाट आउँदै गरेको को३६प ५४९७ नम्बरको सिआरभी सोनापुरको प्रहरी सहायक निरीक्षक सनम राजवंशीले एरिया क्लियर गर्दै चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक इलाका प्रहरी महेन्द्रनगर सुनसरी दरबन्दी भई सिआरभी सोनापुरमा कार्यरत् प्रहरी सहायक निरीक्षक सनम राजवंशी सामान्य घाइते भएका छन् भने पछाडि सवार शिवनन्द गम्भीर बनेका थिए । गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा बिहीबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना बुधबार करिब २ बजे भएको थियो ।
प्रहरीले ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । ट्रक चालक विराटनगर बस्ने ३२ वर्षीय सुजन थापा फरार रहेको र उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । ट्रकको तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गहुँ माड्ने मेसिनको ठक्करले मृत्यु
मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा गहुँ माड्ने मोसिक कम्पाइनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रवेश राजवंशीको गहुँबारीमा गहुँ माड्दै गर्दा पछाडि सार्ने क्रममा को२त ९७४४ नम्बरको मेसिनले ठक्कर दिँदा ६५ वर्षीय लेप्का मियानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गहुँको भुस उठाउँदै गरेको अवस्थामा ब्याक सार्ने क्रममा मियानीलाई मेसिनले बुधबार दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि रङ्गेली अस्पताल पुरयाउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनालगत्तै फरार बनेका मेसिन चालकको खोजी प्रहरीले गरिरहेको छ । मेसिन नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।