भोजपुरः सामान्यतया मानिस मृत्युदेखि डराउँछ । आफैंले आफैलाई बन्दुकले गोली हान्ने त कल्पनासम्म पनि गर्न सकिँदैन । तर, भोजपुरमा यस्तै नसोचेको घटना भएको छ ।
यहाँ एक पुरुषले भरुवा बन्दुकले आफैंलाई गोली हानेपछि मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका-१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
खत्रीले मङ्गलबार साँझ भरुवा बन्दुक हानेर आत्महत्या गरेको भोजपुरका डीएसपी राजकुमार राईले बताए । घरकै भरुवा बन्दुकले घाँटीमा गोली हानेका थिए । उनले घरदेखि केही पर आफैंलाई गोली हानेका थिए । जिल्ला प्रहरी कार्यालयका भोजपुरका राईका अनुसार घटनाको जानकारी लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा उनी रगताम्मे अवस्थामा लडिरहेको फेला पारेका थिए । छेउमै भरुवा बन्दुकमेत लडेको थियो । भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली परिचालित भएको जनाइएको छ ।
पारिवारिक तनाव वा अन्य के कारणले उनले आफैंलाई गोली हाने भन्नेबारे अनुसन्धान जारी रहेको र अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।