विराटनगरः ६४ वर्षीय वृद्ध बुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेका छन् । मणिकुमारले चैत ३० गते स्थानीय ६४ वर्षीय बुबा देवीबहादुर तामाङलाई दाउरा प्रहार गरी घाइते बनाएका थिए ।
देवीबहादुर र स्थानीय मानबहादुर तामाङबीच जग्गाका विषयमा झगडा भइरहेका बेला मणिकुमारले उनीमाथि दाउरा प्रहार गरेका थिए ।
देवीबहादुरको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा वैशाख २ गते मृत्यु भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।