Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जहाँको गाउँ नै तरकारी खेतीमय बन्यो

हाम्रो कोशी आवाज
बैशाख ३ २०७९, शनिबार
जहाँको गाउँ नै तरकारी खेतीमय बन्यो

खोटाङः १८ वर्षअघि व्यवसायिकरूपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका इन्द्र श्रेष्ठलाई छिमेकीले नै पत्याएका थिएनन् । बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर, त्यही तरकारी आफ्नै बारीमा फलाउन सकिन्छ भन्नेमा कसैको ध्यान गएको थिएन ।
त्यो बेला कृषिविज्ञ मदन राई र सूर्यबहादुर राईको नेतृत्वमा खाल्लेको नाहिमा कृषि स्रोत केन्द्र सञ्चालन थियो । नाहीमा हाल शुभम् फाउण्डेसन (दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–२ सोल्मा) को रूपमा सञ्चालनमा छ । त्यही कृषि स्रोत केन्द्र पुगेर व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएर श्रेष्ठले बारीमा कृषि कर्म सुरु गरे ।
गोलभेंडा, तिते करेला, फर्सी, काँक्रोलगायत तरकारी फलाउन थालेपछि भने इन्द्रलाई छिमेकीले पत्याउन थाले । उनको बारीमा उत्पादित तरकारी दिक्तेल बजार पुग्न थाल्यो । तरकारी बिक्रीबाट राम्रो आम्दानी गर्न थाले । बिस्तारै छरछिमेकमा उनको सिको शुरु भयो । घर–घरमा तरकारी खेती हुन थाल्यो ।
हाल खाल्ले बाँझघरेका स्थानीयले तरकारी खेतीलाई आम्दानीको माध्यम बनाएका छन् । बाँझघरेमा १७ घरपरिवारको बसोबास छ । यी सबै घरमा तरकारी खेती हुन्छ । तरकारी बिक्रीबाट किसानले मासिक ३५–४० हजार आम्दानी गर्छन् । तरकारी खेतीबाटै घर खर्च टरिरहेको स्थानीय सूर्योदय कृषक समूहका अध्यक्ष टंक श्रेष्ठ बताउँछन् ।
तरकारीसँगै मौरीपालन
अगुवा किसान इन्द्र श्रेष्ठ तरकारी खेतीमा मात्र सीमित भएनन् । उनले व्यवसायिकरूपमा मौरीपालन पनि शुरु गरे । हाल वार्षिक ५० देखि ६० केजी मह बिक्री हुने गरेको श्रेष्ठ बताउँछन् । उनको घर वरपर मौरीका १७ घार छन् । मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएकाले घार थप्ने योजना बनाएको श्रेष्ठ बताउँछन् । मौरीपालन भने ६–७ वर्षअघि मात्र शुरु गरिएको हो ।
मौरीपालनका लागि उनले आफैले मौरीको घार निर्माण गर्ने गरेका छन् । हाल उनले नयाँ २५ घार तयारी अवस्थामा राखेका छन् । मौरीपालनलाई थप बृहत बनाउन उनका छोरा इटहरी पुगेर तालिम लिएर फर्किसकेका छन् ।

प्रकाशित मिति: बैशाख ३ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend