सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधबार राति पौने ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१७ प ३२४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हसनपुरस्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाइकल तथा चालक समेत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो ।
खोजतलासको क्रममा साढे ९ बजे नहरमा खसेको मोटरसाइकलसहित चालक रामधुनी नगरपालिका–८ का ४३ वर्षीय धुर्वकुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् । नहरमा खसी मृत फेला परेका चौधरीको कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि धरानको बीपी कोइरालाका स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।