धरानः ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ ।
स्थानीय तहमा उम्मेदवार बन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ । आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनय दर्ताको समय तोकिएको छ ।
स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आजदेखि सुरु हुने भए पनि जिल्लामा ठूला दल उम्मेदवार छनोटमै अल्झिएका छन् । उम्मेदवारको टुंगो नहुँदा निर्वाचनको रौनक त्यति छैन ।
सत्ता गठबन्धनमा सहमती जुटन सकेको छैन । गठबन्धन दलबीच आ–आफ्नै अडानका कारण भागबण्डा मिल्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘सबैको अडान छ । सहमति हुन सकेको छैन । अन्तिम समयमा मात्र सहमति होलाजस्तो देखिन्छ, उनले भने ।
केन्द्रले लगाएको भागवण्डामा चित्त नबुझाएका स्थानीय नेताहरुले सुनसरीमा केन्द्रले दिएको निर्देशन मानेका छैनन् । बरु गठबन्धनका पाँच दलका नेताहरु एकअर्कालाई आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
गठबन्धनका अन्य दलले सुनसरीका सबै स्थानीय तहको नेतृत्व नेपाली कांग्रेसले लिन खोजेको आरोप लगाएका छन् । अर्कोतिर, कांग्रेसका नेताहरुले गठबन्धनका अन्य दलले आफ्नो हैसियत बिर्सिएर बढी माग गरेको आरोप लगाउन थालेका छन् ।
धरानको अवस्था पनि त्यस्तै छ । अहिलेसम्म यहाँ भागबण्डा मिल्न सकेको छैन । जनता समाजवादी पार्टी एक्लै चुनाव लड्ने भन्दै बाहिरिसकेको छ । ‘यहाँ त कांग्रेस र माओवादी नै मिल्न नसक्ने अवस्था आइसकेको छ’, एक नेता भन्छन्, ‘वडागतरुपमा यी दुवै दलले आफ्नै उम्मेद्वार उठाउन सक्छन् ।’
नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहले सत्ता गठबन्धनका अन्य दलले दलीय हैसियतभन्दा बढी भाग खोजेकाले आफूहरु चुनावी तालमेल नगर्ने पक्षमा पुगेको बताए ।
‘जति वडा छ त्योभन्दा बढी कांग्रेस बाहेकका दललाई नै चाहियो भन्ने माग छ । १२ वटा प्रमुख १२ उपप्रमुखमा भएकोमा १८ वटा त अरु दलले नै मागिरहेका छन् । गठबन्धन गरेरै जानुपर्छ भन्ने पक्षमा हामी छौं तर, जितेको ठाउँमा पनि मागिरहेका छन् अनि कसरी हुन्छ ?’ उनले फरकधारसँग भने, ‘सुनसरीमा गठबन्धन नै नहुने स्थितिमा पुगियो, हामी एक्लै लड्ने तयारीमा जुट्न थालिसकेका छौं ।’
नेकपा माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल चाहिँ फेरि कांग्रेसले सबै सिट आफैंमात्र लिन खोजेकाले गठबन्धनको चुनावी तालमेलको सम्भावना सकिएको बताउँछन् । ‘कांग्रेसको दम्भले सीमा नाघेको छ,’ उनले भने, ‘हामी अब तीन दल मिलेर अगाडि बढ्न खोजिरहेका छौँ ।’
नेकपा एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले पनि सुनसरीमा गठबन्धन टुटेको बताए । सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा) सुनसरीका अध्यक्ष भगिरथ खत्वेले पनि कांग्रेसले घमण्ड गरेका आरोप लगाएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा १२ वटा स्थानीय तह रहेको सुनसरीमा नेपाली कांग्रेसले ६, एमालेले तीन, तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले दुई र संघीय समाजवादी फोरमले एक स्थानीय तहको प्रमुख जितेका थिए ।
त्यस्तै नेपाली कांग्रेसले पाँच पालिकामा उपप्रमुख, एमालेले चार, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले दुई र संघीय समाजवादी फोरमले एउटा स्थानीयतहको उपप्रमुख जितेको थियो । वडामा जितको आधारलाई लिँदा चाहिँ नेकपा एमाले पहिलो पार्टी बनेको थियो ।
सुनसरीका कुल १२४ वडा मध्ये एमालेले ५५ वडा जित्दा कांग्रेसले ४६, मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) ले १२, संघीय समाजवादी फोरमले ८, माओवादी केन्द्रले २ र एकजना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए ।
यसलाई आधार मान्ने हो भने सुनसरीमा गठबन्धन नगर्दा पनि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस बलियो अवस्थामा देखिन्छ ।
२०७४ सालको स्थानीय निर्वाचनको परिणामलाई आधार बनाउने हो भने नेकपा माओवादी केन्द्र सुनसरीमा निकै कमजोर देखिन्छ । एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीको अवस्थाबारे अहिले अनुमान गर्न सकिने अवस्था छैन । सत्ता गठबन्धनमै आवद्ध जनता समाजवादी पार्टीको जिल्लाका दक्षिणी क्षेत्रमा पकड बलियो देखिन्छ ।
एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी गत निर्वाचनभन्दा एमाले अझ बलियो अवस्थामा रहेको दाबी गर्छन् । त्यसैले पनि आफूहरुलाई पाँचै दलको गठबन्धन रहँदा पनि कुनै असर नपर्ने उनले बताएका छन् ।