धरानः मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङको विराटनगर बस्ने ३३ वर्षीय सुरज सुनवार रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाका अनुसार आइतबार राति श्रीअन्तुबाट फिक्कलतर्फ आउँदै गरेको को३३प १५५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका ४ तकपटस्थित श्रीअन्तु–फिक्कल भित्री पक्की सडक खण्डबाट मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खस्न पुगेको थियो ।
यस्तै, सुनसरीको बराहाक्षेत्र–२ देवीथाननजिक कान्छीचोकमा दुर्घटना हुँदा धरानका दुईजना गम्भीर घाइते भएका छन् ।
चतरा पक्की सडकखण्डमा बयरबनबाट सूर्यकुण्डतर्फ जाँदै गरेको प्र १–०५–००१ च ००३३ नम्बरको पिकअपले धरानबाट कोशी पुलतर्फ जाँदै गरेको को५प २३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक धरान–१७ बस्ने वर्ष ३८ को गणेश लकान्द्री र मोटरसाइकल पछाडि सवार वर्ष ३० कि रसिला लकान्द्री गम्भीर घाइते भएका छन् । उनीहरुको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पिकअप र चालक बराहक्षेत्र १ बस्ने वर्ष ३४ को शिवशंकर राई इलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १२ प ४७९ नम्बरको मोटरसाइकल र उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स५प ५५०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा को१२प ४७९ को मोटरसाइकल चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ बस्ने वर्ष ३५ को उमेशकुमार मुखिया रहेको प्रहरीले जनाएको छ । उनले मापसे गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनको उपचार जिल्ला अस्पताल इनरुवामा भइरहेको छ । स५प ५५०३ नम्बरको चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।